२०८३ वैशाख १६ , बुधबार

एमाले सुर्खेतको विवाद बालकोट प्रवेश



कुलेन्द्र शाही, सुर्खेत । नेकपा एमाले सुर्खेतको किचलो झन् झन् बढ्दै गइरहेको छ । बुधवार जिल्ला अध्यक्ष अमृतबहादुर बिसीले प्रेस विज्ञप्ति जारी गर्दै नवौँ अधिवेशन स्थगित भएको जानकारी गराएपछि तातेको एमालेको राजनीतिले बालकोट प्रवेश पाइसकेको छ। बालकोटले एमाले कर्णालीका केन्द्रीय तहका नेताहरूलाई बोलाइ प्रदेश चुनावको बेला अध्यक्ष ओलीको आदेश तामेल किन नगरेको भन्दै यस्तै गतिविधि जारी रहे कारबाही गर्नेसम्मको चेतावनी दिएको छ।

एमाले पार्टीमा एउटा अभियुक्तलाई जस्तै गरेर ओलीले एमाले स्थायी कमिटी सदस्य यमलाल कँडेलको सातो लिइरहेको बिहीबार पार्टी केन्द्रीय कार्यालयमा भएको छलफलमा सहभागी एक सदस्यले बताए। उनका अनुसार कँडेलले कर्णाली प्रदेशमा गुटबन्दी गर्न खोजेको, केन्द्रीय निर्देशनको पालना नगरी अटेरी गरेकोजस्ता गम्भीर आरोपहरूको सामना गर्नुपरेको छ। प्रदेश निर्वाचनमा कँडेलको योजना बमोजिम कमिटी बनेपछि रुष्ट ओलीले अधिवेशनमा पराजित पद्मा खड्कालाई उपसचिवमा नियुक्त गरेर पार्टीमा आफ्नो बाहेक कसैको पनि नचल्ने प्रष्ट सङ्केत गरेका छन्।

अहिले सुर्खेत जिल्ला कमिटी भित्र विवाद सिर्जना गरेर कँडेललाई हतोत्साहित गर्ने योजना ओलीको छ। १ सय ३५ सदस्यीय जिल्ला कमिटीमा अध्यक्ष अमृतकुमार बिसीको पक्षमा मुस्किलले ५ जना सदस्य छन्। जिल्ला सल्लाहकार समिति र जनवर्गीय सङ्गठनमा पनि लगभग यही अनुपातमा कँडेल निकटका व्यक्तिहरू छन्। उनीहरू एमाले सुर्खेतको आगामी फाल्गुन ४,५,६ गते हुने निर्वाचनमा आयोजकका रूपमा स्वतः प्रतिनिधि बन्नेछन् ।

यसरी हेर्दा स्वतः अधिवेशनका प्रतिनिधि बन्ने सङ्ख्या झण्डै आधाको हाराहारीमा हुने र उनीहरूले जसलाई चाह्यो उसैलाई निर्वाचित गर्नसक्ने देखिन्छ। पालिका कमिटीहरू पनि कँडेलकै कब्जामा रहेकोले तलबाट निर्वाचित भएर आउने प्रतिनिधिहरू पनि कँडेल निकट कै हुने उनीहरूको बुझाई छ। यही डरको कारण अहिलेका सबै कमिटीहरू भङ्ग गराई जिल्ला आयोजक कमिटी गठन गर्न दबाब दिने उद्देश्यले विवादको सिर्जना गरिएको छ।

सुर्खेतका सबै कमिटीमा अल्पमतमा परेको अमृत बिसी समूहले जानिबुझी पार्टी भित्र विवाद सिर्जना गरी सुर्खेतका सबै पार्टी कमिटी विघटन गर्न लगाउने दाउमा छ । यही योजना बमोजिम अध्यक्ष बिसीले अधिवेशनको मिति स्थगन गरिदिएका हुन। यसले गर्दा अहिले अध्यक्ष र पदाधिकारीको दैनिक दोहोरी चल्दै गएको छ ।

अध्यक्षले बुधवार प्रेस विज्ञप्ति जारी गरेर अधिवेशन रोकिदिए भने बिहीबार जिल्ला कमिटीका अध्यक्ष बाहेकका पदाधिकारीहरूले अध्यक्ष बिसीको निर्णय व्यक्तिगत रहेको ठहर गर्दै अधिवेशन तोकिएकै मितिमा हुने विज्ञप्ति जारी गरे। बैठक जिल्ला उपाध्यक्ष कुलमणि देवकोटाको अध्यक्षतामा बसेको थियो। सचिव केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिवेशन तोकिएकै मितिमा हुने उल्लेख छ। बिसी जिल्लामा नवराज रावत खेमा र प्रदेशमा गोरख बोगटी खेमामा छन् भने बाँकी पदाधिकारीहरू यामलाल कँडेल खेमाका हुन् ।

बिहीबार उपाध्यक्षको अध्यक्षतामा बैठक बसेको विषयमा आक्रोशित हुँदै अध्यक्ष बिसीले सामाजिक सञ्जालबाट नै काउन्टर जवाफ दिएका छन् । एमालेको वैधानिक व्यवस्था अनुसार अध्यक्षको उपस्थितबिना, सहमतिबिना बसिएको बैठक र गरिएका निर्णयहरू कार्यान्वयन नहुने चेतावनी बिसीले दिएका छन् । यदि कार्यान्वयन गर्न खोजिए पनि त्यस्ता कार्यले वैधानिकता नपाउने उनको भनाइ छ ।

‘यो कुरा स्पष्ट हुँदाहुँदै पार्टी उपाध्यक्षको अध्यक्षतामा बैठक बसी अधिवेशनका काम तोकिएको मितिमा हुने भनी सचिव कविन्द्रकुमार केसीबाट हस्ताक्षर गरी प्रकाशित गरिएको प्रेस विज्ञप्तिले पार्टी भित्रका अन्तर विरोधलाई समाधान गर्नुको साटो पार्टीभित्र देखिएका समस्यामाथि समस्या थप्ने काम भएको छ,’ अध्यक्ष बिसीले उल्लेख गरेका छन्, ‘त्यसो हुँदा जिल्ला कमिटी, ९ वटा पालिका कमिटी, ९९ वार्ड कमिटी, टोल कमिटी र सम्पूर्ण जनसङ्गठनमा रहनुभएका कमरेडहरू, पार्टी सदस्य र शुभचिन्तकहरू, भ्रममा नपर्न अनुरोध गर्दछु ।’

अध्यक्ष बिसीले विज्ञप्तिलाई हल्का रूपमा लिँदै शुक्रवार पनि जिल्ला उपाध्यक्ष कुलमणि देवकोटाको अध्यक्षतामा सचिवालयको बैठक बसी तोकिएको जिल्ला अधिवेशन कुनैपनि बहानामा नरोकिने प्रष्ट पारेको छ । बैठकले अध्यक्ष बिसीले बुधवार जारी गरेको विज्ञप्ति व्यक्तिगत र अप्रत्याशित भएको भन्दै फिर्ता लिन आग्रह गरेको छ । यस्तै जिल्ला अधिवेशन तोकिएकै समयमा सम्पन्न गर्ने कार्यमा जुट्न अध्यक्ष अमृतबहादुर बिसीलाई अनुरोध गरिएको छ ।

साथै बैठकले सामाजिक संजालमा आएका कुनैपनि व्यक्तिगत तथा कसैको निजी स्वार्थमा आधारित विषय वा भ्रममा नपरी पार्टी जिल्ला कमिटीको निर्णय अनुसार २०८० फागुन ४,५ र ६ गते आयोजना हुने नवौँ जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने अभियानमा जुट्न सम्पूर्ण जिल्ला कमिटी, ९ वटै पालिका कमिटी, ९९ वटै वडा तथा शाखा कमिटी, सम्पूर्ण पार्टी सदस्य कमरेडहरू, मोर्चा तथा जनसङ्गठनलाई निर्देशनसमेत दिएको छ ।

अध्यक्ष बिसीले सचिवालयले गरेको निर्णयविरुद्ध फेरी अर्को सूचना जारी गरेका छन् । उनले जारी गरेको सूचनामा भनिएको छ,‘ पार्टीको वैधानिक व्यवस्थाअनुसार पार्टी हितका निम्ति अध्यक्षले गर्ने कार्य विधान विपरीत र एकल नहुँने ब्यहोरा जानकारी गराउँछौ। अध्यक्षको सहमति र उपस्थिति विना विधान विपरीत उपाध्यक्षको अध्यक्षतामा बैठक बस्ने पार्टीको विधानमा व्यवस्था नभएको हुँदा बैठक बसाल्न र नबस्न सम्पूर्ण पार्टी पदाधिकारी र सदस्यहरूलाई जानकारी गराउँदछु ।’

साथै अध्यक्षले यसअघि बिहीबार पार्टीका जिल्ला उपाध्यक्षको अध्यक्षतामा बसेको सचिवालयको बैठकमा गरिएका निर्णयहरू विधान विपरीत भएकाले यसका कसैलाई पनि भ्रममा नपर्न आग्रहसमेत गरेका छन् । साथै उनले फागुन ४ गतेदेखि ६ सम्म हुने भनिएको अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगित भएको पुनः सूचना गरेका छन्।स्थगित भएको अधिवेशनको उपयुक्त समयमा मिति तोकिने र पार्टीभित्र गुटबन्दी झाँगिँदै गएपछि यो निर्णय गर्न बाध्य भएको बताएका छन् ।

उनले प्रदेश अधिवेशनदेखि हालसम्मका गतिविधिले पनि प्रष्ट देखाएको भन्दै यसलाई पार्टी शुद्धीकरणको अभियानको रूपमा बुझिदिन अनुरोध गरेका छन्।उनले आठौँ जिल्ला अधिवेशनपछि आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थित तथा वैज्ञानिक तवरले सञ्चालन गर्न नसकिएको बताउँदै गुटबन्दी गरेर नेतृत्वलाई असफल बनाउने प्रयास भएको आरोपसमेत लगाएका छन् ।

केही व्यक्तिको इसारामा पार्टीलाई नचाउने प्रयत्नहरू भएको छ । जिल्ला कमिटीको बैठक हलमा तालाबन्दी गरी सदस्यहरूलाई बन्धक बनाएर निर्णय गर्न थालिएपछि मैले यो निर्णय गर्न बाध्य भएको हुँ,’ उनले विज्ञप्तिमा उल्लेख गर्दै भनेका छन्, ‘कर्णाली अधिवेशनपछि सुर्खेतको पार्टी सङ्गठनमा देखिएको असहजता विभिन्न कार्यक्रम र बैठक बहिस्कार गरिएका छन् । यसले पनि पार्टीभित्र गुटबन्दी घेरिएको स्पष्ट देख्न सकिन्छ ।’ दुई पक्षबिचको कलहले एमाले सुर्खेतभित्र गहिरो सङ्कटको अनुमान गर्न सकिन्छ ।

अध्यक्ष बिसीले अहिले गुट परिवर्तन गरेर अध्यक्षमा दोहोरिन चाहन्छन् । आठौँ अधिवेशन हुँदा यामलाल कँडेलको गुटबाट उनी अध्यक्ष बनेका थिए । एमालेको कर्णाली प्रदेशको प्रथम अधिवेशनपछि भने बिसी रावत खेमामा उभिएका छन् ।कँडेल नवौँ अधिवेशनपछि बिसीलाई पुनः अध्यक्ष बनाउन नचाहने बुझेरै बिसी कँडेल इतर समूहमा उभिएका छन्। कँडेल खेमाबाट अहिले उपाध्यक्ष रहेका कुलमणि देवकोटालाई अघि सार्ने तयारी छ । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।

 

प्रकाशित मिति : २०८० माघ २० गते शनिबार