सुर्खेत । जाजरकोटको शिवालय गाउँपालिकाले मापदण्ड मिचेर कर्मचारी पदपूर्ति गरेको पाइएको छ । गाउँपालिकाले मापदण्ड मिचेर प्रतिस्पर्धा विनै कर्मचारी नियुक्ति गरेको पाइएको हो । पालिकाले गत कात्तिक १४ र १६ गते अमिन, सब इन्जिनियर र सामाजिक परिचालकको लागि करारमा कर्मचारी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको थियो ।
यस्तै गत चैत्र २४ गते एम आइ एस अपरेटरको लागि विज्ञापन गरिएको थियो । सोही अनुसार अमिनमा ५ जना, सव इन्जिनियरमा ५ र सामाजिक परिचालकमा ६ जनाको दरखास्त परेको थियो । तर, गाउँपालिकाले भने उम्मेदवारलाई प्रतिस्पर्धा नै नगराएर गुपचुप रूपमै आफ्नो मान्छेलाई कर्मचारीका रूपमा नियुक्त गर्न लागेको बुझिएको हो ।
करारमा कर्मचारी नियुक्त गर्दा लिखित परीक्षा वा अन्तर्वार्ता अथवा दुवैको योग्यता क्रमका आधारमा नियुक्त गरिनुपर्ने प्रावधान छ । सबै उम्मेवादवारहरुलाई प्रतिस्पर्धा गराएर पदपूर्ति गर्नुपर्नेमा पालिकाले कसैलाई पनि जानकारी नदिई परीक्षा समितिको समेत बैठक नबसेर आफूखुसी आफ्नो मान्छेलाई नियुक्त गर्न लागेको तथ्य खुलेको हो । अमिन, एमआईएस र खेलकुद शिक्षकको परीक्षा शुक्रवार तोकिएको थियो ।
जसमा अमिनतर्फ ५ जनाको दरखास्त परेकोमा एक जना मात्रै लिखित परीक्षामा सहभागी भएका थिए । अरू ४ जना भने आफूहरूलाई जानकारी नभएको हुँदा परीक्षामा सहभागी हुन नसकेको बताउँछन् । एक जना रामचन्द्र सिंह ठकुरी मात्रै परीक्षामा सहभागी भएका थिए । उनी शिवालय गाउँपालिका–७ का वडाध्यक्ष टाइरेन्ट शाहीका सालो नाता पर्ने रहेको बुझिएको छ ।
परीक्षामा उनी मात्रै सहभागी भएको हुनाले धेरैले वडाध्यक्ष र कर्मचारीले उनलाई मात्रै जानकारी दिएको हुनाले उनी परीक्षामा सहभागी भएको बताएका छन् । यस्तै एमआईएसतर्फ ४ जनाको दरखास्त परेको थियो । त्यसमा ४ जना परीक्षार्थी सहभागी भएका थिए ।
४ जनामा तीन जनाले भने परीक्षा सुरु हुने बेलामा मात्रै जानकारी पाएको बताएका छन् । आवेदक मध्येका एक जनाले भने ‘हामीले ११ बजे मात्रै परीक्षा हुने थाहा पायौ, त्यहाँ त आफ्नो चिनेको मान्छेलाई मात्रै जानकारी दिइएको रहेछ, त्यसपछि हामीले परीक्षा स्थगित हुनुपर्छ भनेर निवेदन समेत दियौँ, किन किन उहाँहरूले मान्नुभएन’ उल्टै परीक्षा दिने भए देऊ नत्र एक जनालाई भए पनि परीक्षा दिन लगाउँछौँ भन्नुभयो ।’
परीक्षार्थीले थपे ‘जसोतसो परीक्षा त दियौ परीक्षा दिएपनि उहाँ आफ्नो मान्छेलाई राख्नुहुन्छ भन्ने निश्चित थियो । तर, अन्तिममा आफ्नो मान्छेलाई नै राख्नुभयो ।’ यो सबै नियम विपरीत छ । विज्ञापन आह्वान भएपछि आफूहरूले फारम भरेपनि लिखित परीक्षा हुने केही जानकारी नदिएर आफ्नो मान्छेलाई पदपूर्ति गर्न लागेको उनीहरूको बुझाइ छ ।
‘एक पटक परीक्षा हुने भनेर पालिकामा गयौ, तर, परीक्षा विविध कारण स्थगित भयो, त्यसपछि लिखित परीक्षाका लागि मिति तोकिने पर्खाइमा थियौँ, तर एक्कासि परीक्षा भइसकेको जानकारी पायौँ,’ ती परीक्षार्थीले भने, ‘सायद उहाँहरूले आफ्नो मान्छेलाई राख्न खोज्नुभएको होला ।’
पालिकाका एक दुई जना कर्मचारीले आर्थिक चलखेल गरी र नजिकका आफ्नो मान्छेलाई राख्नका लागि यस्तो नियम विपरीत काम गरेको नाम नखुलाउने सर्तमा पालिकामा कार्यरत एक जना कर्मचारीले खबरदृष्टिलाई बताए ।
उपाध्यक्ष, हाकिम, जिन्सी प्रमुख र रोजगार संयोजकको मिलेमतो
शिवालय गाउँपालिकाकी उपाध्यक्ष गीता शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत, जिन्सी शाखा प्रमुख, रोजगार शाखा प्रमुख, र वडा नम्बर ७ का वडाध्यक्ष शाहीको मिलेमतोमा यो काम भएको पालिकामा कार्यरत ती कर्मचारीले बताए ।
उनी भन्छन् ‘सूचना बाहिर पोष्ट भएपछि अरू परीक्षार्थी पनि सहभागी हुन्छन्, त्यसैले त्यतिकै वेबसाइटमा राखौँ, कसैले वेबसाइट खोल्दैनन्, हाम्रो मान्छेलाई फोन गरेर बोलाऊँ भइहाल्छ । भन्ने कुरा गर्नुभयो,’ सायद उहाँहरूले चिनेकै मान्छे पालिकामा राख्न खोज्नुभयो होला । सूचना पाटीमा पनि सूचना राखिएको थिएन ।’उहाँहरू राखिएको दाबी गर्नुहुन्छ । यो सबै उहाँहरूले नियम मिचेर गर्दै हुनुहुन्छ ।’
साथै सल्यानको शारदा नगरपालिकाबाट सूचना प्रविधि अधिकृत बोलाएर समेत काम गरेको बुझिएको छ । पालिकामा भएका अधिकृतले मापदण्ड बाहिरको काम नगरेको हुँदा प्रमुख प्रशासकीय अधिकृत बस्नेत, जिन्सी शाखा प्रमुख बुढा र रोजगार संयोजक राना मिलेर सल्यानबाट कर्मचारी बोलाएर काम गर्न लगाएको समेत ती कर्मचारीले जानकारी दिए ।
‘हाकिम साप र जिन्सी शाखा प्रमुखले आफ्नो चिनेको मान्छेको नामै छनोट गर्नुपर्छ भनेर पालिकामा भएका आइटी सरलाई पठाउनुभएको थियो,’ मैले यो काम गर्दिन यो मापदण्ड विपरीत छ भन्नुभयो, आइटी सर काम परेर काठमाडौँ जानुभयो, त्यही मौका छोपेर सल्यानबाट कर्मचारी बोलाएर काम गर्न लगाउनुभयो । यो सबै गलत छ ।’, उनले भने ।
यता, शिवालय गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेत भने आफूहरूले नियमसम्मत नै काम गरेको दाबी गर्छन् । उनी आवेदन दिएकाहरू आफूहरू फेल हुने निश्चित भएपछि विरोध गर्नतर्फ लागेको बताउँछन् । ‘उहाँहरू फेल हुने निश्चित भएर विरोधतर्फ लाग्नुभएको हो, हामीले सूचना जारी गरेका हौ, उहाँहरूले किन देख्नुभएन खै राम्रो कुरा कहाँ देख्नुहुन्छ र नराम्रो भए देख्नुहुन्थ्यो होला उनले भने ।
उनले पालिकाका सूचना अधिकृत काठमाडौँ भएकाले सल्यानबाट कर्मचारी ल्याएर काम गर्न लगाएको स्वीकार गरे । उनले नियमसम्मत काम गरेको दाबी गरे पनि मापदण्ड विपरीत काम भएको प्रष्ट देखिएको शिवालय गाउँपालिकाका एक जना वडा अध्यक्षले बताए।
उनले यो सबै आफ्नो मान्छे राख्नको लागि पालिकाका हाकिमले चलखेल गरेको आरोप लगाए । ‘हाम्रो वडाबाट पनि परीक्षा दिने मान्छे थिए, किन हो खै खबर गरिएन, सूचना मात्रै म्यासेन्जरमा पठाइएको रहेछ, म अनलाइन थिएन परीक्षा भइसकेपछि सूचना हेरे । उहाँहरूले सिधै आफ्नो मान्छे राख्न खोज्नुभएको हो यो सबै गलत छ परीक्षामा प्रतिस्पर्धा हुनुपर्छ ।’ ती वडा अध्यक्षले भने ।
विज्ञापन खुलाइयो तर, बाहिर देखाइएन
शिवालय गाउँपालिकामा कार्यरत ती कर्मचारीका अनुसार खेलकुद शिक्षकको विज्ञापन खुलाइएको भए पनि बाहिर प्रकाशन नगरी गुपचुपमै राखिएको पाइएको छ । उनले सूचना निकालेको तर बाहिर कसैलाई जानकारी नदिएर आफ्नो मान्छेलाई आवेदन दिन लगाएर नियुक्त गर्न लागेको बताए ।
‘विज्ञापन त खुलाएका हुन तर, विज्ञापन खुलाएर बाहिर कहीँ पब्लिक गरेनन्, पब्लिक गरेपछि अरूलाई थाहा हुन्छ भनेर आफ्नो मान्छेलाई मात्रै जानकारी दिएर नियुक्त गर्न खोजेको हुन् । शुक्रवार परीक्षा भयो, त्यसमा हाकिम साबकै नाता पर्ने दिनेश बस्नेत सहभागी भएका थिए ।’ ती कर्मचारी भने । यता, प्रमुख प्रशासकीय अधिकृत बस्नेत भने विज्ञापन खुलाएको दाबी गर्छन् ।
उनले दाबी गरेपनि विज्ञापन भने वेबसाइट र सूचना पाटी दुबैमा भेटिएको छैन । कर्मचारीका अनुसार विज्ञापन सूचना अधिकृत सम्म समेत नपुगेको पाइएको छ । ती कर्मचारी भन्छन् ‘विज्ञापन खुलेपनि आइटी सरलाई जानकारी दिइए अरू विज्ञापन सूचना त सब आइटी सरलाई दिइन्थ्यो । त्यो विज्ञापन किन वेबसाइटमा राख्नका लागि दिइएन त ’ उनले थपे ‘सायद ती चिनेको मान्छे दिनेश बस्नेतलाई राख्नका लागि विज्ञापन बाहिर नदेखाइएको होला ।
यस्तै आइतबार शिवालय गाउँपालिकाका अध्यक्ष शेर बहादुर शाहीको कार्यकक्षमा तालाबन्दी गरिएको थियो । गाउँपालिकाले मापदण्ड मिचेर कर्मचारी पदपूर्ति गरेको भन्दै आइतबार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको थियो । हाल उक्त ताला भने गाउँपालिकाले तोडिसकेको छ ।
यता, पालिकाका अध्यक्ष शेर बहादुर शाहीले भने परीक्षाको समयमा आफू जिल्ला बाहिर रहेकाले यस विषयमा आफूलाई कुनै पनि जानकारी नभएको बताएका छन् । उनी शुक्रवार भएको परीक्षा स्थगित हुनुपर्ने बताउँदै आएका छन् ।