२०८३ वैशाख १४ , सोमबार

नलगाड र आठबिसकोटमा ६५ लाखको राहत सामाग्री हस्तान्तरण



जाजरकोट । जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा ६५ लाख बराबरको राहत सामाग्री हस्तान्तरण गरिएको छ । गिभ टु एसियाको आर्थिक सहयोगमा ग्रुप फर टेक्निकल एसिस्टेन्सको समन्वयमा राहत सामग्री हस्तान्तरण गरिएको हो ।

गत कार्तिक १७ गते राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट अति प्रभावित जाजरकोटको नलगाड नगरपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ग्रुप फर टेक्निकल एसिस्टेन्सले ६५ लाख बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो ।

पालिकाले आवश्यकताका आधारमा प्रभावित वडाका नागरिकहरूलाई राहत वितरण गर्ने सर्तमा पालिकालाई राहत सामाग्री हस्तान्तरण गरिएको हो । नलगाड नगरपालिकामा चामल ३ सय बोरा, पियुस प्लस ५ सय १२ बोतल, सर्वोत्तम पिठो ५ सय प्याकेट हस्तान्तरण गरिएको हाे ।

यस्तै हाईजिन किट ५ सय सेट, ब्लाङ्केट ५ सय थान, सरसफाइ किट ५ सय सेट, स्टेशनरी ५ सय ३५ थान, डस्बिन ३ सेट र पालिकाका २ वटा विद्यालयका लागि आपतकालिन उद्धार सामाग्रीहरू २ सेट हस्तान्तरण गरिएको ग्रुप फर टेक्निकल एसिस्टेन्सका सचिव भोलानाथ चौधरीले जानकारी दिए ।

यस्तै आठबिसकोट नगरपालिकामा जिआई सिट जस्तापाता ५४ बन्डल, प्युस प्लस ५ सय १३ बोतल, सर्वोत्तम पिठो ५ सय प्याकेज, हाईजिन किट ५ सय सेट, सरसफाइ किट ५ सय सेट, ब्लाङ्केट ५ सय थान, डस्टबिन ३ थान, स्टेशनरी ५ सय थान र पालिकाका २ वटा विद्यालयका लागि २ सेट आपतकालिन उद्धार सामाग्रीहरू हस्तान्तरण गरिएको उनको भनाइ छ ।

राहत सामाग्री हस्तान्तरण कार्यक्रममा सचिव चौधरीले भूकम्प प्रभावित क्षेत्रका स्थानीयहरूको विपद् पछिको पुनर्स्थापनामा सहयात्री बन्न र विपद्का घाउहरूमा मलम लगाउन मदत पु¥याउने उद्देश्यले ग्रुप फर टेक्निकल एसिस्टेन्सले राहत सामाग्री हस्तान्तरण गरेको बताए । स्थानीय सरकारले नागरिकको आवश्यकताको आधारमा अति प्रभावित क्षेत्रमा राहत हस्तान्तरण गर्ने अपेक्षा लिएको सचिव चौधरीको भनाइ छ ।

उनले पालिकाहरूसँगको समन्वयमा आवश्यकताको आधारमा राहत सामाग्री ल्याएको हुँदा यसले भूकम्प प्रभावित नागरिकहरूलाई राहतको महसुस हुने विश्वास व्यक्त गरे । राहत सामग्री ग्रहण गर्दै नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर बहादुर रावतले महत्त्वपूर्ण राहत सामग्री हस्तान्तरण गरेकोमा ग्रुप फर टेक्निकल एसिस्टेन्स् र गिभ टु एसियालाई आभार प्रकट गर्दै यो सामग्रीले भूकम्पबाट प्रभावित नगरवासीले राहतको महसुस गर्ने बताए ।

नलगाड नगरपालिका भूकम्प पछिको उद्धार र पुनर्स्थापनाको क्षेत्रमा अन्य पालिकाको तुलनामा अगाडि रहेको र यसमा विभिन्न सहयोगी सङ्घसंस्थाको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै उनले विशेषगर ग्रुप फर टेक्निकल एसिस्टेन्स्ले प्रदान गरेको राहत सामाग्री प्रत्यक्ष रूपमा नगरपालिकालाई हस्तान्तरण गरेको र यो राहतलाई पालिकाको अति प्रभावित क्षेत्रका नागरिकहरूलाई आवश्यकताका आधारमा वितरण गर्ने उनको भनाई छ ।

यस्तै आठबिसकोट नगरपालिकाका शिक्षा शाखा अधिकृत इन्द्र बहादुर बस्नेतले राहत सामग्री ग्रहण गर्दै यो राहतले भूकम्प पछिको पालिकाको राहत र पुनर्स्थापनामा साथै विपद्को समयमा प्रतिकार्यको लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

विभिन्न राहत सामग्रीसँगै विद्यालयहरूका लागि प्रदान गरिएको आपतकालिन उद्धार समाग्रीहरुले विपद्को समयमा उद्धार गर्न सहयोग पु¥याउने बताउँदै पालिकामा भूकम्पले विद्यालयलाई पनि असर गरेको हुँदा अब विद्यालय स्तरबाट नै विपद् सम्बन्धी सचेतना र पुनर्स्थापनाका कामहरू सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

राहत हस्तान्तरणमा ग्रुप फर टेक्निकल एसिस्टेन्स्का सचिव भोलानाथ चौधरी लगायत विजनेश डेभलभमेन्ट कोर्डिनेटर सुदिम शर्मा, समाजसेवी महेन्द्र थापाको समन्वयकारी भूमिका रहेको थियो । साथै समाज कल्याण परिषद्का सदस्य नारायण गिरीले राहत सामाग्रीहरूको प्रत्यक्ष रूपमा अवलोकन तथा अनुगमन गरेका थिए ।

प्रकाशित मिति : २०८० माघ २२ गते सोमबार