सुर्खेत । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले टेबलमा बसेर नभइ किसानको खेतबारीमै पुगेर किसानमुखी तालिम प्रदान गर्ने पद्धतिको बिकास गर्ने बताएका छन् । उनले कर्णाली प्रदेश सरकार कृषि तथा पशुपंछी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्र वीरेन्द्रनगर सुर्खेतको आयोजनामा गरिएको ६ दिने प्रदेशस्तरीय सुन्तलाजात फलफूल खेतीसम्बन्धीको तालिममा यस्तो बताएका हुन् ।
उनका अनुसार प्रदेशस्तरीय सुन्तला व्यवसायीहरुलाई सुन्तलाजात ह्रास रोग ९सिट्रस डिक्सलाइन० व्यवस्थापन तथा खेती प्रविधि तालिम प्रदान गरिएको छ । मन्त्री शर्माले किसानमुखी हुने सबै तालिम होटलको टेबलमा बसेर प्रभावकारी नहुने भएकाले किसानको खेतबारीमा बसेर गर्ने पद्धतिको शुरुवात सल्यान जिल्लाबाट गरिएको बताए । मन्त्री शर्माले किसानलाई अनुदान नभइ प्राविधिक सहयोग चाहिएको बताए ।
उनले भने, ‘किसानले परम्परागतरुपमा सुन्तलाजात फलफूल व्यवसाय गरेको पाइएको छ । पछिल्लो सुन्तलाजात फलफूल व्यवसायमा विभिन्न रोगको संक्रमणको समस्या बढेको गुनासो आइरहेको छ । कृषि क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि प्रदेश सरकारले सचेतनासम्बन्धी तालिम खेतबारीमै सञ्चालन गर्ने छ । पहिलो पटक सल्यान जिल्लाको बागचौर नगरपालिका वडा नं ३ खालीमा प्रदेशस्तरीय सुन्तलाजात ह्रास रोग (सिट्रस डिक्सलाइन) व्यवस्थापन तथा खेती प्रविधि तालिम भएको छ ।
मन्त्री शर्माले प्रदेश सरकारले कृषि तथा पशुधन सुरक्षा गर्ने जिम्मेवारी लिएको तर किसान अनुदानमुखी मात्रै नभइ व्यवसायीमखी हुनुपर्ने बताए । उनका अनुसार अहिले किसानको अनुभव सैद्धान्तिक ज्ञानभन्दा फरक छ, तर किसानको व्यवसाय सफल बनाउन व्यवहारिक ज्ञान र प्राविधिक ज्ञानको आवश्यक्ता भएकाले प्रदेश सरकारले किसानको खेतबारीमा विज्ञसहितको टोलीबाट तालिम दिन शुरु गरेको हो ।
उनले कर्णालीमा कृषि र पशुक्षेत्रको विकासका लागि स्याउ खेती प्रवर्द्धन तालिम जुम्लामा र चौरी प्रवर्द्धन तालिम डोल्पाका किसानको बारी र गोठमा पुगेर प्रदेश सरकारले तालिम सञ्चालन गर्ने बताए । सुन्तलाजात ह्रास रोग (सिट्रस डिक्सलाइन) व्यवस्थापन तथा खेती प्रविधिसम्बन्धी तालिममा कर्णाली प्रदेशका ५ जिल्लाका २६ जना किसानको सहभागिता रहेको थियो । जसअनुसार सल्यानबाट १३, रुकुम पश्चिमबाट ४, जाजारकोटबाट ४, दैलेखबाट ४ र सुर्खेतबाट १ जनाको सहभागिता रहेको थियो ।