सुर्खेत । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको केन्द्र राडी बजारमा रहेको प्रभु बैङ्कका एक कर्मचारीले दर्जनौँ ग्राहकको करोडौँ रकम निकालेर सम्पर्क विहीन भएका छन् । बैङ्कको अप्रेसन इन्चार्ज पदमा कार्यरत नीराजन शाहले ग्राहकको पैसा लिएर सम्पर्क विहीन भएका हुन् ।
बैङ्कबाट ग्राहकको रकम निकालेको रहस्य खुलेपछि अहिले आठविसकोट शाखामा छानबिनको लागि प्रभु बैङ्कको कर्णाली प्रदेशबाट एक टोली पुगेको छ । उक्त टोलीले आन्तरिक छानबिन गरिरहेको छ भने थप अनुसन्धानका लागि केन्द्रीय टोली समेत आउन लागेको त्यहाँका एक जना कर्मचारीले बताए ।
आठविसकोट नगरपालिकाका प्रमुख रबी केसीले ठुलै रकम लिएर कर्मचारी भागेको कुरा आफूले सुनेको तर यथार्थ कुरा बुझ्न बाँकी रहेको बताए । छानबिनको लागि बैङ्कको माथिल्लो निकायबाट टिम आएको समेत नगर प्रमुख केसीले जानकारी दिए ।
एक जना बचतकर्ताले आफ्नो खाताबाट जानकारी बिनै १० लाख रकम अर्काको खातामा ट्रान्सफर गरिएको पत्ता लागेको बताए । बैङ्कमा गएर बुझ्दा आफ्नो खाताको रकम अन्तै पठाइसकिएको पाइएपछि आफूहरूले त्यसो गर्ने कर्मचारी प्रति कारबाहीको माग गरेको जानकारी दिए ।
वडा कार्यालय, नगरपालिका समेतको नाममा रहेको खाताको रकम दुरुपयोग भएको बताइएको छ । तर, कति जनाको कति रकम निकालियो भन्ने विषयमा बैङ्कले बाहिर खुलाएको छैन । रकम निकालेको आरोप लागेका कर्मचारी शाह अहिले बैङ्कको सम्पर्कमा नरहेको बुझिएको छ । शाहले उपचारको लागि भन्दै सात दिन पहिला १२ दिनको बिदा लिएर गएका थिए ।