२०८३ वैशाख २२ , मंगलबार

आजदेखि बुलबुलेमा ‘कर्णाली उत्सव’ सुरु



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आज (शनिबार) देखि कर्णाली उत्सव सुरु हुँदै छ । हरेक वर्ष फागुन ५, ६ र ७ गते हुने कर्णाली उत्सवको यो वर्ष पाँचौँ सँस्करण हो । तीन दिनसम्म चल्ने उत्सव पर्यटकीयस्थल बुलबुलेमा आयोजना हुँदैछ । कर्णाली उत्सवलाई ‘कुडा कर्नालीका’ भन्ने गरिएको छ । उत्सवमा विभिन्न विषयमा बहस, प्रतिक्रिया, विद्वत प्रवचन, पैकेलो (हिरो) का कथा, साङ्गीतिक साँझ, साहित्य साँझ प्रस्तुत गरिनेछ ।

यो वर्षको उत्सवका विपद्को सवाललाई बढी प्राथमिकता दिइएको आयोजकले जानकारी दिएका छन् । उत्सवमा ‘प्रसूति र पितृसत्ता’, ‘प्रकोप र पुनर्निर्माण’, ‘समाज, साहित्य र विकास’, ‘लोकतन्त्र र सुशासन’ विषयमा केन्द्रित रही बहस गरिने ऋति फाउन्डेसनका अध्यक्ष तथा उत्सव आयोजक समितिका संयोजक कमलराज लम्सालले जानकारी दिए ।

शनिबार पहिलो दिन १० बजे उत्सवको उद्घाटन गरिने छ । उद्घाटन सत्रमा कर्णाली उत्सव, उत्सव वा बहसमा भएको लगानी, कर्णाली बाहिरका सरोकारवालाको कर्णालीप्रतिको प्रेम, नीतिसम्बन्धी बहसको महत्त्व लगायतका विषयमा मन्तव्य राखिनेछ । उद्घाटन सत्रकै क्रममा ‘प्रसूति र पितृसत्ता’ विषयमा विद्वत प्रवचन रहनेछ । उक्त प्रवचन नेपाल सरकारका पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माले गर्नेछन्।

सिम्ता गाउँपालिकाको सिङ्गारू नाच पनि उद्घाटन सत्रमा रहने आयोजक समितिका संयोजक तथा ऋति फाउण्डेशनका अध्यक्ष कमलराज लम्सालले बताए । पहिलो दिन तीनवटा विषयमा विपद् केन्द्रित बहस हुनेछ। भूकम्प प्रभावित क्षेत्रका पालिका प्रमुख, भूकम्पविद् तथा सामाजिक क्षेत्रमा कार्यरत वक्ताको उपस्थितिमा ‘इपिसेन्टर’ भन्ने विषयमा उत्सवको पहिलो बहस हुनेछ ।

यो सत्रमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसी, जाजरकोटको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी, भूकम्पविद् लोकविजय अधिकारी र नेपाल रेडक्रस सोसाइटी रूकुम पश्चिमका सभापति रमा गौतम वक्ताका रूपमा रहनेछन्। त्यसपछि जीवन प्रशिक्षक जाजरकोटका नरबहादुर कार्कीको ‘पैकेलो’ प्रस्तुत गरिनेछ ।

पैकेलो भनेको सामाजिक क्षेत्रमा अग्रभागमा रही काम गरिरहेका कर्णालीका हिरोहरूको आफ्नो कथा हो । जसलाई व्यक्ति स्वयंले सुनाउँछन् । त्यसपछि ‘संकट र सेवा’ भन्ने विषयमा बहस हुनेछ । यो बहसमा जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रबहादुर घर्ती, समाजसेवी आनी छोइङ डोल्मा, कर्णाली प्रदेश अस्पतालका निर्देशक डम्बर खड्का वक्ताका रूपमा रहनेछन्।

पहिलो दिनको तेस्रो बहस सत्र ‘जोखिम र जुझ्न्या जुक्ति’ भन्ने विषयमा रहनेछ। यसमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनील पोखरेल, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसी र सिंजा गाउँपालिका जुम्लाका अध्यक्ष पूर्णप्रसाद धिताल वक्ताका रूपमा रहनेछन् ।

पहिलो दिनको अन्तिम सत्रमा सांगीतिक साँझ हुनेछ । यसमा कलाकारहरू टीका पुन, यज्ञराज उपाध्याय, डिक्रा वादी सहभागी हुनेछन् । आनी छोइङ डोल्मा पनि सांगितिक साँझमा सहभागी हुनेछिन् । यस्तै दोस्रो दिन फागुन ६ गते ‘कर्णालीः धरोहर–मनोहर’ विषयमा विद्वत प्रवचन रहनेछ। उक्त प्रवचन इतिहासकार प्रा.डा. राजाराम सुवेदीले गर्नेछन् । त्यसपछि ‘लगानीको लगन’ भन्ने विषयमा बहस हुनेछ।

यसमा कर्णाली प्रदेशका अर्थमन्त्री वेदराज सिंह, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेल वक्ताका रुपमा रहनेछन् । त्यसपछि ‘कर्णाली दृष्टि’ विषयमा बहस हुनेछ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली काँग्रेसका नेता प्रदीप पौडेल यसमा वक्ता रहनेछन् । अर्को सत्रमा ‘कर्णाली क्याराभान’ विषयमा छलफल गरिनेछ। यसमा क्याराभान चलचित्रका निर्देशक एरिक भाली वक्ता रहनेछन् ।

त्यसपछि युवा वैज्ञानिक राजेन्द्र विष्टको ‘पैकेलो’ प्रस्तुत गरिनेछ । पैकेलोपछि ‘अपांगताः पहुँच र पौरख’ भन्ने विषयमा बहस गरिनेछ। यो बहसमा कर्णाली प्रदेश सभा सदस्य दुर्गबहादुर रावत, शिक्षा अभियन्ता, दृष्टिविहीन छिटुप दोर्जी लामा, नेपाल बहिरा संघ सुर्खेतका अध्यक्ष नम्रता भारती वक्ताका रूपमा हुनेछन् । दोस्रो दिनको अर्को बहसको विषय ‘हाम्मो कर्णाली, हाम्मै कर्णाली’ रहनेछ।

यसमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा गायिका टीका पुन, संस्कृतिविद् यज्ञराज उपाध्याय, लोक गायक डिक्रा वादी वक्ता रहनेछन् । ‘अन्तरजातीय विवाहः रहर र कहर’ भन्ने विषयमा पनि उतसवको दोस्रो दिन बहस गरिनेछ। जसमा जाजरकोटका मोहन विक, शिक्षक पुष्पा विष्ट, अधिवक्ता कुञ्जनी परियार र प्रतिनिधि सभा सदस्य सन्तोष परियार वक्ता हुनेछन् । दोस्रो दिनको अन्तिम सत्र देउडा खेल हुनेछ।

यसमा यशोधा देवकोटा, प्रेमप्रसाद अधिकारी, संगीता बडुवाल सहभागी हुनेछन् । तेस्रो दिन फागुन ७ गते समाजसेवी म्यागी डोयनले विद्वत प्रवचनका रुपमा आफ्नो अनुभव सुनाउनेछिन्। उनले ‘अ जर्नी फ्रम न्यू जर्जी टु कर्णाली’ विषय केन्द्रित आफ्नो प्रवचन राख्नेछिन्। त्यसपछि ‘लोकतन्त्रः दलभित्र, देशभित्र’ भन्ने विषयमा बहस हुनेछ । प्रतिनिधि सभा सदस्य हृदयराम थानी, महेश बर्तौला, बागमती प्रदेश सभा सदस्य सरल सहयात्री र कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्का यसमा वक्ता रहनेछन् ।

त्यसपछि सामाजिक अभियानता तथा बादी सरोकार मञ्चका अध्यक्ष हिक्मत वादीले ‘पैकेलो’ सुनाउनेछन् । तेस्रो दिनको अर्को बहस ‘देश जान्या’ भन्ने विषयमा हुनेछ । वैदेशिक रोजगारीका विषयमा गरिने यो बहसमा वैदेशिक रोजगार बोर्डका निर्देशक टीकाराम ढकाल, नेपाल श्रमिक आपूर्तिकर्ता संघका अध्यक्ष रामेश्वर शाह, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, पत्रकार चेतन अधिकारी वक्ताका रूपमा रहनेछन् ।

त्यसपछि ‘समाज र संघर्ष’ विषयमा बहस हुनेछ । टीका बुढाथोकी, ममता नगाल, पवित्रा शाही, मञ्जु सुनार यसमा वक्ता हुनेछन् । अर्को बहस ‘खस कुडा–खास कुडाः सौंराई जिन्नगीको’ भन्ने विषयमा हुनेछ । यसमा गोरी रावत, तुंगनाथ उपाध्याय, राधिका भाम मल्ल वक्ताका रूपमा हुनेछन् । उत्सवको अन्तिम बहस ‘विकास अर्न्या! विकास खान्या!’ भन्ने विषयमा हुनेछ।

यसमा प्रतिनिधि सभा सदस्य विनीता कठायत, कर्णाली प्रदेश सभा सदस्य रणसिंह परियार र विकासविद् रमेश अधिकारी वक्ता रहनेछन् । त्यसपछि समापन समारोह हुनेछ भने अन्तिममा गजल महाफिल हुनेछ । तीन दिनसम्म चल्ने कर्णाली उत्सव (कुडा कर्णालीका) को सेतोपाटी र सिआइएनबाट प्रत्यक्ष प्रसारण हुनेछ।

प्रकाशित मिति : २०८० फागुन ५ गते शनिबार