२०८३ वैशाख १४ , सोमबार

एकै स्थानीय तहका ४ सय जनाको आँखामा मोतियाबिन्दु

३०१ जनाको निःशुल्क शल्यक्रिया


सुर्खेत । नेपाल नेत्रज्योति संघ आँखा उपचार मेहलकुना र मेहलकुना नगरपालिकाको सहकार्यमा गत माघ १७ गतेदेखि फागुन १ गतेसम्म वडास्तरमा सञ्चालित आँखा शिविरमा आँखा जाँच गर्दा मोतियाबिन्दुको समस्या देखिएका ४०० बिरामीमध्ये ३०१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । नगरपालिकाको वडास्तरमै गएर आँखा परीक्षण गर्दा १४ प्रतिशतमा मोतियाबिन्दुको समस्या देखिएको हो ।

२ हजार ८ सय ४० जना व्यक्तिको आँखा परीक्षण गर्दा ४०० जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो । वडास्तरमै गएर आँखा परिक्षण गरी मोतियाबिन्दु भएको र त्यसको शल्यक्रिया समेत निःशुल्क हुन्छ भन्ने जानकारी गराँउदासमेत करिब १०० जना बिरामीहरु शल्यक्रियाका लागि नआएको नेपाल नेत्रज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णालीका प्रमुन मान बहादुर कुँवरले बताए ।

‘कर्णाली प्रदेशको सुगम क्षेत्रमा पनि मोतियाबिन्दुको समस्यो यस्तो छ । यहाँबाट जम्मा एक घण्टामा अस्पताल पुग्न सकिन्छ तर पनि हाँहरु उपचार गराउन जानु भएन,’ कुँवरले भने, ‘उहाँहरुलाई मेरो आँखामा रोग लागेको छ उपचार गरे निको हुन्छ भन्ने ज्ञान नै छैन । अहिले हाम्रो प्रमुख चुनौती नै यही हो । यहाँका मानिसहरुलाई आँखा उपचारको आवश्यकता महसुस नै छैन ।’

सुर्खेत जस्तो सुगम जिल्लाको एउटै पालिकामा ४०० जनामा मोतियाबिन्दुको समस्या देखिनु सामान्य नभएको नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा।शैलेशकुमार मिश्र बताउँछन् । ‘यसबाट अहिले पनि नागरिकहरुलाई आँखा उपचारको आवश्यकता महसुस नै भएको छैन भन्ने देखिन्छ । त्यसैले अब हामीले नागरिकमा आँखा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न जरुरी छ,’ मिश्रले भने ।

राप्ती आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा। सुरेश रसाईलीको नेतृत्वको टोलीले बिरामीहरुको निःशुल्क शल्यक्रिया गरेको थियो । नेपाल नेत्रज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णालीको आर्थिक सहयोग तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा मोतियाबिन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको हो ।

सीबीएम ग्लोबलको आर्थिक सहयोगमा कर्णाली प्रदेशमा सञ्चालित नेपाल एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रममार्फत हालसम्म प्रदेशका ६ हजार भन्दा बढी आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिसकिएको कुँवर बताउँछन् ।

प्रकाशित मिति : २०८० फागुन ८ गते मंगलबार