
सुर्खेत । नेपाल पुलिस स्कुल सुर्खेतले विद्यालयको पाँचौँ वार्षिक उत्सवको अवसरमा लामो समयदेखि मेरुदण्ड भाँचिएर अशक्त भई बिरामीले थला परेका एक जनालाई खाद्यान्न सहयोग गरेको छ । स्कुलले सुर्खेत वीरेन्द्रनगर–१० पठान टोलका ५४ वर्षीया कर्णबहादुर नेपालीलाई खाद्यान्न सामाग्री सहयोग गरेको हो ।
स्कुलले बिहीबार नेपालीको घरमै गएर चामल, दाल, चिनी, पिठो, तेललगायत अन्य खाद्यान्न सामाग्री सहयोग गरेको प्रहरी निरिक्षक रणबहादुर चन्दले बताए। नेपाली विगत १५ वर्षदेखि खुट्टाको बिरामी छन् । उनले आफ्नो कम्मरभन्दा मुनीको शरीर चले नचलेको कुनै पनि थाहा नपाउने बताए ।
उनले पैसा अभावका कारण खुट्टाको औषधी गर्न नसकेको हुँदा सबैमा सहयोगको समेत अपिल गरेका छन् । यस्तै बिहीबार नै पुलिस स्कुलले वीरेन्द्रनगर नगरपालिका–१ धारापानीका दुवै मृगौला फेल भएका रवि कुमार सुनारलाई पनि खाद्यान्न सहयोग गरेको छ ।
नेपाल पुलिस स्कुल सुर्खेतले प्रत्येक वर्ष विद्यालयको वार्षिक उत्सवमा सामाजिक उत्तरदायित्वको काम गर्दै आएको र त्यस अन्तरगत यो वार्षिक उत्सव स्वास्थ्य पीडित नागरिकलाई खाद्यान्न सहयोग गरी मनाउने निरिक्षक चन्दले बताए।