२०८३ वैशाख १४ , सोमबार

सिम्ताकाे जीवन ज्योति माविमा ठूलो आगलागी



सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाको जीवन ज्योति माध्यमिक विद्यालयमा ठुलो आगलागी भइरहेको छ । सिम्ता गाउँपालिका–२ काफलकोटमा रहेको उच्च माविमा बिहीबार साँझ ७ बजेको समयदेखि आगलागी सुरु भएको थियो। विद्यालयको जिन्सी शाखा (स्टोर रुम) बाट सुरु भएको आगो क्रमश: विद्यालयको अन्य कोठाहरूमा सरिरहेको छ।

अहिले यो समाचार तैयार पार्दासम्म फर्निचर र काठहरू राखेका दुई वटा कोठामा राखेका सबै सामानहरू जलेर नष्ट भएको छ भने सिमेन्टबाट बनेको पक्की कोठाहरूलाई समेत आगोले लपेटेकोले भवन काम नलाग्ने गरी ध्वस्त भएको नेपाली काँग्रेसका नेता टेकबहादुर सिंहले जानकारी दिए। कोही व्यक्तिले विद्यालयमा आगो लगाएको हुनसक्ने उनले शङ्का गरे।

आगलागीबाट विद्यालयलाई ठुलो क्षति भएको र विद्यार्थीहरूलाई पढ्नका लागि पनि समस्या हुनसक्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजेन्द्र वलीले खबरदृष्टिलाई जानकारी दिए । उनकाअनुसार आगलागीबाट ठुलो मात्रामा क्षति भएको छ ।

आगलागीबाट १३ थान कम्प्युटर, ५ थान प्लास्टिकका कुर्सी, २ वटा काठको दराज, दुई वटा स्टिलको दराज, ३५ बोरा सेनेटरी प्याड, फर्निचरका सामान लगायतका महत्त्वपूर्ण धेरै कागजात जलेको उनले जानकारी दिए । विव्यस अध्यक्ष वलीले विद्यालयको स्टोर कोठा पूर्णरुपले जलेर नष्ट भएको बताए । उनकाअनुसार आगो अहिले पनि नियन्त्रणमा नआएको र आगो कसरी लाग्यो भन्ने बारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८० फागुन १० गते बिहीबार