२०८३ वैशाख १४ , सोमबार

तिलाको हिउँदे गाउँ सभा : बालमैत्रीसहित १४ कार्यविधि पारित



जुम्ला । जुम्लाको तिला गाउँपालिकाले बालमैत्री आचारसंहितासहित १४ वटा कार्यविधि पारित गरेको छ । गाउँपालिकाले १३औं हिउँदे गाउँ सभाबाट १४ वटा विधेयक पारित गरेको हो । पालिकाको विकास प्रभावकारी कार्यन्वयन गर्नका लागि ऐन, नियमावली, कार्यविधि र मापदण्ड निर्माण गरी पारित भएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए ।

उनका अनुसार विपद व्यावस्थापन कोष सञ्चालन कार्यविधि ९२०८००, सडक आश्रित सहयोगापेक्षी मानव उद्धार, पुनःस्थापना तथा व्यवस्थापन कार्यविधि, बालमैत्री आचारसंहिता कार्यविधि, बालविवाहसम्बन्धी रणनीति योजना, बालबालिकासम्बन्धी पञ्चवर्षीय रणनीतिक योजना कार्यविधि, अपांगता भएका व्यक्तिहरुको अधिकार संरक्षणसम्बन्धी कार्यविधि, स्थानीय विपद तथा जलवायु उत्थानशील योजना तथा भवन निर्माण माफदण्ड कार्यविधि, पोषणमैत्री स्थानीय शासन वडा तथा पालिका घोषणा कार्यविधि पारित भएका छन् ।

त्यस्तै गाउँ सभाबाट जग्गा वर्गीकरण कार्यविधि, स्थानीय शिक्षा विकास तथा व्यवस्थापन, गाउँपालिकाको शिक्षा नियमावली ९२०७४०, तिला गाउँपालिकाको अवकास कोष नियमावली कार्यविधि र विपन्न नागरिक उपचार सहायता कार्यविधि पनि पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।

उनले तिलावासीको विकासका लागि त्रुटिरहीत तरिकाबाट अगाडि बढ्ने बताए । उनले दिगो विकासको लक्ष्य हाँसिल गर्नका लागि सबैको हातेमालो आवश्यक रहेको बताउँदै यसका लागि तिला गाउँपालिका सबैको सल्लाह सुझाव मागेर अगाडि बढ्ने बताए । उनले १३ वटा ठूला योजनाको बोलपत्र भइ सम्झौता गर्न बाँकी रहेको जानकारी दिए ।

गाउँपालिकाकी उपाध्यक्ष गोरीकला बुढाले चालु आर्थिक वर्ष २०८०/०८१ को माघ मसान्तसम्मको आयव्यय अन्तर्गत आन्तरिक आयमा १० लाख ५० हजार संकलन भएको बताइन् । उनका अनुसार गाउँपालिकाको चालुतर्फ विनियोजित बजेट ३३ करोड २४ लाख रहेकोमा १५ करोड २७ लाख खर्च भएको छ ।

उनले पालिकाको पुँजीगततर्फ विनियोजित बजेट १७ करोड ९९ लाख रहेकोमा २४ लाख ९० हजार खर्च भएको बताइन् । कूल विनियोजित बजेट ५१ करोड २४ लाख ३७ रहेकोमा १५ करोड ५२ लाख खर्च भएको उनले जानकारी दिइन् ।

उपाध्यक्ष बुढाकाअनुसार गाउँ सभाबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालनका लागि १ लाख, बालकोषमा रकम जम्मा गर्नका लागि ५० हजार, कृषि तथा मौसम सूचना केन्द्रको तथ्यांक संकलमा ३ लाख, उपाध्यक्षसँग गाउँ सरकार कार्यक्रम अन्तर्गत वडा नम्बर ९ ढिपुमुलीका लागि ४ लाख बजेट हिउँदे गाउँ सभाबाट विनियोजन गरिएको छ ।

यस्तै बालमैत्री वडा घोषणा कार्यक्रमका लागि १ लाख ५० हजार, मौसमी तरकारी खेती विस्तार कार्यक्रमका लागि ३ लाख, धुलेली ओडार काठे पुल निर्माण वडा नम्बर ६ का लागि १ लाख र खोला खानेपानी पाइपलाइन विस्तार तथा ट्यांकी निर्माणका लागि ५ लाख बजेट हिउँदे गाउँ सभाबाट विनियोजन गरिएको छ ।

त्यस्तै गाउँपालिकाको नयाँ भवनमा स्तनपान तथा पोषण कर्नर स्थापनाका लागि २ लाख बजेट विनियोजन भएको तिला गाउँपालिकाले जनाएको छ । गाउँ सभामा बोल्दै जिल्ला समन्वय समितिकी सदस्य रचा रावतले गाउँपालिका समृद्ध बनाउन जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला निकायको महत्वपूर्ण भूमिका रहने बताइन् ।

उनले जनप्रतिनिधिले आफ्नो भूमिका र कर्मचारीले आफ्नो भूमिका निर्वाह गरेको खण्डमा पालिकाको विकासमा गुणात्मक वृद्धि हुने बताइन् । जिल्ला समन्वय समितिका सदस्य पदम रावतले बजेटलाई थप जनमुखी बनाइनुपर्ने बताए । त्यस्तै वडा नम्बर ५ का अध्यक्ष ललित बहादुर शाहीले जनप्रतिनिधिले विकासको दृष्टिकोण र निर्देशन दिने भएकाले कामको जिम्मेवारी बढी कर्मचारीमा हुने बताए ।

उनले कर्मचारीले गरेका राम्रा काममा जनप्रतिनिधिको साथ हुने प्रतिबद्धता व्यक्त गरे । तिलाको विकास र समृद्धिका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न उनले अनुरोध गरे । हिउँदे गाउँ सभामा महिला, दलित, स्वास्थ्य, शिक्षा, सञ्चार क्षेत्रसहित विभिन्न क्षेत्रको सुझाव संकलन गरिएको छ ।

प्रकाशित मिति : २०८० फागुन ११ गते शुक्रबार