
सुर्खेत । कोपिला भ्याली स्कुल सुर्खेतको १३ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख आतिथ्यता तथा स्कुलका निर्देशक टोप बहादुर मल्लको अध्यक्षतामा वार्षिकोत्सव सम्पन्न भएको हो ।
वार्षिकोत्सवका अवसरमा बोल्दै मुख्यमन्त्री शर्माले कोपिला भ्याली स्कुलले शैक्षिक गुणस्तर सुधारमा गरेको प्रगतिमा प्रशंसा गर्दै कर्णालीका अन्य विद्यालयका लागि कोपिला भ्याली सिकाइ केन्द्र हुनसक्ने बताए । कोपिला भ्यालीले गरेका राम्रा कामको सिको गर्दै अन्य निजी तथा सरकारी विद्यालयले पनि शैक्षिक गुणस्तर सुधारमा जोड दिनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा बोल्ने सबै वक्ताहरूले कोपिला भ्याली स्कुल आफैमा एक नमुना विद्यालय मात्रै नभई अन्य विद्यालयका लागि अनुसरणयोग्य रहेको दाबी गरेका थिए । कार्यक्रममा कक्षा नर्सरीदेखि १२ कक्षासम्मका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति देखाएका थिए ।
विद्यार्थीले कर्णालीको हुड्के नाचदेखि धिमाल नाच, मारुनी नाच, तामागंसेलो नाच लगायतका विभिन्न नाच तथा कविता समेत वाचन गरेका थिए । विद्यार्थीको धमकेदार सांस्कृतिक प्रस्तुति देखेर वार्षिकोत्सवमा सहभागी मुख्यमन्त्रीदेखि, वीरेन्द्रनगर उपप्रमुख, जिल्ला समन्वय प्रमुख, विभिन्न विद्यालयका शिक्षक तथा प्राचार्यहरू र अभिभावक मक्ख भएका थिए ।
पछिल्लो समय कोपिला भ्याली स्कुलप्रति कर्णालीका विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्दो छ । तथ्यांक अनुसार विद्यालयले एकपछि अर्को शैक्षिक उपलब्धि हासिल गर्दै गरेपछि आकर्षण बढ्दै गएको हो । हाल कोपिला भ्यालीमा ४ सय २७ जना विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयले शिक्षण सिकाइमा दिगोपना, वातावरणमैत्री र स्थानीय अभ्यासलाई जोड दिएको प्रधानाध्यापक राजन कार्कीले बताए । उनका अनुसार प्रविधिमैत्री सिकाइलाई जोड दिँदै कम्यूटर ल्याबलाई स्तोरोउन्नती गर्नुका साथै इन्टरनेट, सिसिटिभी र अन्य प्रविधिलाई चुस्त, दुरुस्त राख्दै शिक्षण सिकाइमा जोड्ने प्रयास भइरहेको छ ।
कक्षा १० को एसइई र कक्षा १२ को बोर्ड परीक्षासँगै शैक्षिक सत्र २०७९÷०८० को परीक्षामा ल्याएको उत्कृष्ट नतिजालाई हेर्दा विद्यालयका लागि उपलब्धिमूलक वर्ष रहेको प्रधानाध्यापक कार्कीको भनाइ छ । विद्यालयभित्र विभिन्न अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई संलग्न गराउनुका साथै विद्यालय बाहिर हुने नगर, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।
विद्यालयमा अतिरिक्त सबै खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुनुका साथै बालबालिकाको बानी व्यवहार तथा आचरणमा अभिवृद्धि गर्नका लागि विभिन्न परामर्श तथा मार्ग निर्देशनका कार्यक्रम पनि सञ्चालन हुँदै आएका छन् ।
