२०८३ वैशाख १४ , सोमबार

हल्ला गरेको भन्दै सुर्खेतमा विद्यार्थीमाथि कुटपिट



सुर्खेत । हल्ला गरेको भन्दै सुर्खेतमा एक शिक्षिकाले विद्यार्थीमाथि निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ । बिहीबार (फागुन १०) गतेका दिन विद्यालय समयमा शिक्षिकाको कुटाइबाट विद्यार्थी घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका–११ मा रहेको नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यामिक विद्यालयमा कक्षा ५ मा अध्ययरत ११ वर्षीय छात्र ललित रेग्मी शिक्षिकाबाट कुटिएका हुन् ।

हल्ला गरेको भन्दै अंग्रेजी विषय पढाउँने शिक्षिका चेतना भण्डारीले ललितलाई कुटपिट गरेकि हुन् । शिक्षिकाको कुटाइबाट घाइते भएका ललितको दायाँ हातको पाखुरा भन्दामाथि नीलडाम छन् । विद्यार्थीलाई कुटेको घटना बिहीबार दिउँसो करिब १ बजेको भएपनि ढिलोगरि बाहिरिएको थियो । स्रोतका अनुसार कुनै कारण नभएर छात्र ललितले कक्षा कोठामा नराम्रो बोलेर हल्ला गरेको भन्दै शिक्षिकाले कुटपिट गरेकी थिइन् ।

स्रोतले दिएको जानकारी अनुसार विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट गरिसकेपछि विद्यालयका अन्य शिक्षकहरूले बाल विद्यालयमा लडेर चोटपटक लागेको भन्दै घरै पु¥याउन गएका थिए । स्रोतले भन्यो, ‘बाबुलाई खेल्दै गर्दा लडेर शरीरिमा चोटपटक लागेको भन्दै विद्यालयका कर्मचारीहरूले घरमा लगेका रहेछन् । बाबु (ललित)लाई बाटोमा खाजा खुवाएर व्यावहारिक परीक्षामा अर्थात (प्राटिकल) मा नम्बर हाल्दिने आश्वासन दिँदै शिक्षिकाले कुटपिट गरेको कुरा कसैलाई नभन्न भनेका रहेछन्।

तर, शिक्षकहरु फर्किएपछि ललितले घरमा म्याडमले कुटपिट गरेको कुरा खुलाएका थिए ।’ छात्रलाई शिक्षिकाले कुटपिट गरिसकेपछि उक्त कुरा तत्काल विद्यालयका प्रधानाध्यापक समक्ष पुगेको थियो । तर, त्यो समयमा विद्यालयका प्रधानाध्यापकले कुनै प्रतिक्रिया दिएका थिएनन् । बालकलाई कुटपिट गर्ने शिक्षिका चेतना भण्डारीले आफुले कुटपिट गरेको स्विकार गरेकी छन् ।

घटना बाहिरिएपछि विद्यालयका प्रधानाध्यापक नेत्रमणी चालिसे र छात्राका अभिवावकसँग बसेर गरिएको छलफलमा शिक्षिका भण्डारीले गल्ती स्वीकार गरेकी हुन् । प्रधानाध्यापक चालिसेले बालकलाई कुटपिट गरिएको कुरा सामान्य भएका कारण विद्यालय प्रशासन अभिवावक लगायतसँग छलफल भएर घटना मिलाइ सकिएको बताए । उनले शिक्षिकालाई घटनाका विषयमा छलफलपछि स्पष्टिकरण मागेको बताए । बालकको उपचार भने विद्यालयले गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८० फागुन १२ गते शनिबार