२०८३ वैशाख १५ , मंगलबार

राष्ट्रिय वाणिज्य बैंकको दैलेखमा शाखा विस्तार



दैलेख । आठविस नगरपालिका वडा नं. ४ राकम कर्णाली दैलेखमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय स्थापना भएको छ । दैलेख सदरमुकाममा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखासम्म पुगेर सेवा लिन जिल्लाका पश्चिम क्षेत्रका नागरिकलाई तीन दिनसम्म लाग्ने अवस्थालाई बुझेर बैंकले शाखा विस्तार गरेको हो ।

शाखा विस्तार कार्यक्रममा बोल्दै शान्ति सुरक्षालाई मध्यनजर गर्दै अबका दिनमा प्रत्येक स्थानीय तहमा समेत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा स्थापना गर्ने प्रादेशिक प्रवन्धक शिवप्रसाद चालिसेले बताए ।

‘नेपाल सरकारको मातहतमा रहेको एक मात्र विश्वासिलो बैंक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा राकम कर्णाली दैलेखमा धेरै चुनौतीका बिच स्थापना गरेका हौं, यहाँका स्थानीय नागरीकहरुले आफ्नो गर गहना, धन सम्पतीको सुरक्षाका लागि अब चिन्ता लिनु पर्दैन’, उनले भने ।

आठबिस नगरपालिका वडा नंं. ४ निवासी ८२ वर्षीय कवला माझीले भनिन्, ‘बैंक गाउँमा आउँदा सजिलो भयो, अब वृद्धभत्ता लिन सदरमुकाम धाउनु पर्ने बाध्यता हट्यो, घरमै बसेर वृद्ध, वृद्धाहरुले रुपैयाँ बुझ्दै मिठो–मिठो खाने बेला आयो, रुपैयाँको बचत हुने भयो ।’

यसैगरी नगर प्रमुख तर्कबहादुर बडुवालले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय स्थापनाले पश्चिम दैलेख क्षेत्रको उत्साहको विषय बनेको बताए । उनले नागरिकहरुका लागि भरपर्दो र विश्वासिलो बनेको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालयले सेवाग्राहीहरुको हीतमा काम गर्नुपर्ने बताए ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय राकम कर्णाली ४६४ को स्थापना भएको भन्दै स्थानीयले पञ्चेबाजासहित स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०८० फागुन १५ गते मंगलबार