२०८२ माघ १७ , शनिबार

सामाजिक मन्त्रीले पदीय मर्यादा भुलेर स्पष्टीकरण सोधे



भदौं ८, सुर्खेत

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले प्रदेश खेलकुद विकास परिषदको लेटरहेडमा पत्र लेखेर परिषद्का उपाध्यक्ष प्रमोद हमाललाई स्पष्टीकरण सोधेका छन् ।

मन्त्री बुढाक्षेत्रीले गत साउन ३२ गतेको मितिमा उपाध्यक्ष हमाललाई प्रदेश अन्तर्गत जिल्ला खेलकुद विकास समिति गठन भएपछि गरेका आर्थिक, प्रशासनिक तथा खेलकुद क्रियाकलाप सम्बन्धी जिल्लाले गरेका समग्र कामको विवरण १५ दिनभित्र मन्त्रालयमा पेस गर्न भनेका छन ।

खेलकुद विकास परिषद्को नामवाट पत्र काट्नु उनको क्षेत्राधिकार भित्र पर्दैन । प्रदेश खेलकुद परिषद् सामाजिक विकास मन्त्रालय अन्तर्गत परेपनि सामाजिक विकास मन्त्रीले नगरी मन्त्रालयका कर्मचारीवाटै आवश्यक कार्वाही हुनु राम्रो हुने मन्त्रालयका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा प्रतिकृया दिए ।

प्रदेश मन्त्रीको हैसियतमा बुढाक्षेत्रीले परिषद्को लेटरहेडमा पत्र काटेपछि कर्णाली प्रदेशको खेलकुद परिषद्का पदाधिकारीहरुसमेत अचम्मित भएका छन् । प्रदेश खेलकुदका एक पदाधिकारीले भने, ‘मन्त्रीको निर्देशन दिने काम हो । तर, यसरी परिषद्को लेटरहेडमा पत्र काट्ने काम कसरी भयो ?’ उनले मन्त्रीले पदीय मर्यादाको ख्याल नगरेको वताए ।

तत्कालीन सामाजिक विकास मन्त्री दल रावलको पालामा कर्णाली प्रदेश खेलकुद परिषद्को उपाध्यक्षमा मनोनित भएका हमाल नेकपा एमालेको भागबन्डाबाट नियुक्ति पाएका थिए ।

प्रकाशित मिति : २०७८ भदौ ८ गते मंगलबार