सुर्खेत । पत्रकार महासंघ सुर्खेत र जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतकाबीच आफु निकटका केही पत्रकारहरुलाई अनधिकृतरुपमा रकम बाड्ने गरेको खुलेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले आर्थिक वर्ष २०८०/०८१ का लागि सुर्खेतमा क्रियाशिल आफु निकटका केही पत्रकारहरुलाई अनधिकृत हिसाबले पैसा बाँढेको भन्ने सूचना खुलेको हो ।
सुर्खेतमा क्रियाशिल आफु निकटका केही पत्रकारहरुलाई अनधिकृत हिसाबले पैसा बाँढेको भन्ने सूचना पाउन बित्तिकै बिहीबार (हिजो) जनस्वास्थ्य कार्यालयका प्रमुख गणेशभक्त गौतमसँग सम्पर्क गरिएको थियो । गौतमले प्रष्ट जवाफ नदिई आलटाल हिसाबले कार्यालयमै आउन भनेका थिए ।
कार्यालयमा आज अपरान्ह (शुक्रबार) पुग्दा गौतमले सूचना दिन नमानी कार्यालयमै कार्यरत उदय विसीलाई भेट्न पठाएका थिए । विसीले सुर्खेतका पत्रकारहरुलाई स्वास्थ्य प्रवर्धनका लागि पत्रकार तथा मिडिया परिचालन शिर्षकमा रकम बाडिएको स्वीकार गरेका छन् ।
उनले स्वास्थ्य प्रवर्धनका लागि मीडिया परिचालन भन्दै एकजना पत्रकारलाई दैनिक १ हजार ८ सयका दरले रकम दिएको बताए । उनले ५ जना पत्रकारलाई ९ हजार रकम दिइसकेको बताए । ‘हामीले स्वास्थ्य प्रवर्धनका लागि सुर्खेतका नौ स्थानीय तहमा पत्रकारहरुलाई परिचालन गरेर त्यहाँको स्वास्थ्यसम्बन्धी गतिविधि ल्याएर प्रतिवेदन तयार गरे वापतको रकम दिने निर्णय गरेका थियौ ।’ उनले भने, ‘जसमा महासंघका अध्यक्षले केहीको नाम सिफारिस गर्नुभयो। हामीले त्यही अनुसार ५÷६ जनालाई दैनिक १८ सय का दरले भुक्तानी दिइसकेका छौ ।’ अब केहीको बाँकी छ ।’
यता महासंघका अध्यक्ष ललित बसेलले जनस्वास्थ्य कार्यालयबाट स्वास्थ्य प्रवर्धनका लागि पत्रकार तथा मीडिया परिचालनका खबर आएका हुँदा आफु लगायत केही पत्रकारहरु सुर्खेतका स्थानीय तहमा गएको स्वीकार गरे । उनले आफुहरु दुई÷तीन स्थानीय तहमा गएको र आफुले सिफारिस गरेका ४/५ जना पत्रकारहरु अन्य स्थानीय तहमा गएको जानकारी दिए । ‘हामीलाई जनस्वास्थ्य कार्यालयबाट स्वास्थ्य प्रवर्धनका लागि पत्रकार र मीडिया परिचालनका लागि खबर आएको थियो ।’ उनले भने, ‘हामीले ४/५ जनालाई सिफारिस गरेका हौ ।’