२०८३ वैशाख १२ , शनिबार

वीरेन्द्रनगरकाे धुलियाविटमै गुणस्तरहीन काम : सिमेन्ट बालुवा प्रयाेग नगरेरै पाेल गाडियाे



 

कुलेन्द्र शाही, सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगरमा स्टिमेटबमाेजिम मसला प्रयाेग (कंक्रिटिङ्) नगरी सोलारका पाेलहरु गाडिएको पाईएकाे छ । वीरेन्द्रनगर नगरपालिकाको ‘उज्यालो कार्यक्रम’ अन्तरगत वीरेन्द्रनगरको धुलियाबिटदेखि बाँगेसिमलसम्म ३८ वटा सडक बत्ती जडान गर्ने याेजनाकाे पहिलाे गाँस मै ढुंगा लागेको छ।

बत्ती जडानको जिम्मा काठमाडौको स्मार्ट सोलारले ताेकिएकाे मापदण्डलाई पुरै मिचेर काम अघि बढाएको थियाे। ताेकिएकाे मापदण्ड पुरा नगरी धमाधम पाेल गाड्दै गर्दा केही स्थानीय व्यक्तिले दिएको सूचनाका आधारमा सिद्धदर्शन दैनिककाे टाेली बिहीबार अपरान्ह धुलियाविट पुगेको थियाे।

स्क्साभेटरले राेड डिभाईडरकाे बीचमा पर्नेगरी खाडल खनेर पिसिसी लगायत पाेल अड्याउने सिमेन्ट बालुवा कत्तिपनि प्रयाेग नगरीकनै काम गरिरहेकाे पाईएपछि सडक डिभिजन कार्यालय र वीरेन्द्रनगर नगरपालिकाको कार्यालयमा हामीले यसबारेमा साेधखाेज गरेका थियौं।

नगरपालिकासंग भएको सम्झौतामा ३८ वटै बत्तीका पोलहरु पक्की हिसाबले गाड्ने उल्लेख छ । तर, नगरपालिकासंगको सेटिङ्गमा सडक बत्तीको पोलहरु सिमेन्ट बालुवा तथा गिट्टीहरु प्रयोग नगरेरै पुरिएको थियाे। धमाधम पाेल गाडिरहेकाे वेला हाम्रो टाेली पुगेपछि ठेकेदार कम्पनी काम राेक्न बाध्य भएको थियाे।

पक्की हिसाबले नगाडिएकाेले बिहीवार ठड्याईएका पाेलहरु १ दिन नवित्दै बाङ्गिसकेका छन्। हल्ला भएपछि गाडिएका पाेलहरु निकाल्ने प्रयास भैरहेकाे छ। नगरपालिकाकाे अलमलले ती पाेलहरु आज साँझसम्म निकालिएको छैन।

हामीले थप साेधिखाेजी गरेपछि सडक डिभिजन कार्यालय सुर्खेत बिहीबार नै धुलियाविट पुगेको थियाे। सडकले कच्ची हिसाबले माटाेले पाेल पुरिएकोले जुनसुकै वेलामा पनि पाेलहरु ढलेर मानवीय क्षतिसम्म हुने भन्दै सम्वन्धित पक्षलाई सतर्क गराएको छ। जडान भैसकेका पोलहरु पानी परेसंग ढल्ने अवस्थामा पुगेका छन् ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले भने आफुलाई यसबारेमा कुनैपनि जानकारी नभएको बताइन् । उनले यसवारेमा नगरपालिकाका इन्जिनियर हरी केसी र प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रप्रसाद शर्मालाई बुझ्न आग्रह गरिन् । उनलेे भनिन,‘पोलहरुमा सिमेन्ट बालुवा प्रयोग गर्नुपर्ने हो, किन गरिएन् म प्राविधिकसँग बुझौला।’

यता, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले मापदण्ड पुरा नगरी काम भएको भन्ने बारे कुनै पनि जानकारी नआएको बताए । उनले यसरी काम भएको भए ठेकेदारलाई पुनः स्टिमेट बमोजिम काम गर्न लगाउने प्रतिवद्धता जनाए ।

यसबारेमा थप बुझ्न खाेज्दा ठेकेदार कम्पनी स्मार्ट सोलार कम्पनीका प्रतिनिधि गणेश बस्नेतले क्वालिटी पुर्याएर काम नगरेको स्वीकार गरे । उनले काम गर्दा अवरोध भएपछि शुक्रवार मात्रै पाेल जाम गर्ने सिमेन्ट बालुवा र गिट्टीहरु ढुवानी गरेको भन्दै बचाउ गरे। उनले आगामी दिनमा स्टिमेट बमोजिम काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

पाेलहरु गाड्दा सम्वन्धित ठाउँकाे सम्वेदनशीलतालाई पनि ख्याल नगरीकन काम गरिएको सडक डिभिजनका लेन्थ वर्कर मानबहादुर शाहीले वताउँछन। उनी भन्छन, ‘ धुलियाविट चाेकमा पानी जम्ने दलदल भएकोले सडकमुनी पाईपहरु विच्याएर (पायलिङ् गरेर) विभागले सडक निर्माण गरेको थियाे।

यसरी मनलागी राेड खन्दा दबिएकाे मुल सडकमै निस्कन सक्छ। यसले त्याे ठाउँकाे सम्पूर्ण सडकलाई ठूलो असर गर्नसक्छ।’ वीरेन्द्रनगर नगरपालिकाले पछिल्लोसमय निर्माण गरेका संरचनाहरु न्यून गुणस्तरका र कमजोर डिजाइनमा बन्ने गरेको भन्दै चर्को आलाेचना हुँदै आएकाे छ। यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ । 

प्रकाशित मिति : २०८१ असार २३ गते शनिबार