२०८३ वैशाख १२ , शनिबार

कर्णाली सुपर मार्टको दोस्रो शाखा सञ्चालन



सुर्खेत । कर्णाली प्रदेशको राजधानीमा ‘कर्णाली सुपरमार्ट’को दोस्रो शाखा सञ्चालनमा आएको छ । बिहीबार पत्रकार सम्मेलन मार्फत वीरेन्द्रनगरको घण्टाघरमा स्थापना भएको सुपरमार्टको दोस्रो शाखा सञ्चालनमा आएको जानकारी गराइएको हो ।

सुपरमार्टको शुक्रवार बिहान सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले एक औपचारिक कार्यक्रमकाबिच उद्घाटन गर्दैछन् । सुपरमार्टका सञ्चालक तेजेन्द्र कार्कीले २०७७ माघ १ गतेबाट सेवा दिँदै आएको कर्णाली सुपरमार्टले दोस्रो शाखाको रूपमा सेवा विस्तार गर्न लागेको बताए । उनले विभिन्न उतारचढावकाबिच पनि दोस्रो शाखा स्थापना गर्न लागेको बताए ।

ग्राहकका रुचिका आधारमा सुपरमार्टले दैनिक उपभोग्य सामाग्री सहुलियत मूल्यमा उपलब्ध गराउनुका साथै सुर्खेतमा नपाइने खाद्य सामग्री पनि उपलब्ध गराउँदै आएको छ ।

सुपरमार्ट सञ्चालनका लागि करिब चार करोड ८० लाख लगानी रहेको सञ्चालक कार्कीले बताए । साथै सुपरमार्टले हरेक वर्ष सपिङ्ग फेस्टिभल समेत गर्दै आएको छ । जसअन्तर्गत लक्की ड्र मार्फत हरेक वर्ष विभिन्न उपहार पनि उपलब्ध गराउँदै आएको छ ।

सञ्चालक कार्कीका अनुसार मासिक पाँच सयभन्दा माथिको सामान खरिद गर्ने ग्राहकलाई सदस्यता स्वरूप कुपन दिएर लक्की ड्र गरिन्छ । यस वर्षका लागि लक्की ड्र मार्फत विद्युतीय स्कुटर उपहार योजना रहेको कार्कीले बताए । जसका लागि यही असार २८ गतेदेखि कार्तिक ३० गतेसम्म पाँच सय रुपैंया बढीको सामान खरिद गर्ने सेवाग्राही लक्की ड्र मा समावेश हुनेछन् ।

रोजगारीका लागि विदेश गएका कार्कीले विदेशको सीप आफ्नै भूमिमा केही गर्न मार्ट सञ्चालन गरेका थिए । सुपरमार्टमा २९ जनाले रोजगारी प्राप्त गरेका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक दैनिक उपभोग्य सामग्री एकै ठाउँ कर्णाली सुपरमार्टले उपलब्ध गराउँदै आएको हो ।

प्रकाशित मिति : २०८१ असार २८ गते बिहीबार