२०८३ वैशाख १२ , शनिबार

जाजरकोटका भूकम्पपीडितको टहरोमा पहिरो खस्यो, चार जनाको हेलीबाट उद्धार



सुर्खेत । जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो खस्दा चार जना घाईते भएका छन् । गए राति साढे नौ बजेको समयमा जिल्लाको कुशे गाउँपालिका-८ को दल्लेनामा टहरा माथिबाट खसेको पहिरोमा परी चार जना गम्भिर घाइते भएका छन् ।

गम्भिर घाईतेहरुको थप उपचारका लागि बुधबार दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट कणरली प्रदेश अस्पताल सुर्खेत पुर्‍याईएको छ । कुशे गाउँपालिका-८ का वडाध्यक्ष डिल्लीबहादुर सिंहका अनुसार घाइते हुनेमा कुशे गाउँपालिका-८, दल्लेनाका २९ वर्षीय कमला थापा, ३५ वर्षीय दलसरी थापा तथा उनकी चार वर्षीय छोरी इस्तिका थापा र १७ वर्षीय छोरी निर्माया थापा रहेका छन् ।

उनीहरुको शरिरमा गम्भिर चोट लागेको उनले बताए । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटसँगको समन्वयमा उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको वडाध्यक्ष सिंहले बताए ।
मनसुन सक्रिय भएसँगै आफ्नो वडामा झण्डै डेढ सयभन्दा बढी ठाउँमा पहिरो गएको उनले बताए ।

भुकम्पका कारण जोखिम कम रहेका ठाउँमा पनि पहिरो जान थालेको वडाध्यक्ष सिंहले बताए । सरकारले अस्थायी आवास निर्माणका लागि दोस्रो किस्ताको रकम नदिनु र भवन निर्माण कार्यविधि नबन्दा थप समस्या भइरहेको उनले बताए ।

प्रकाशित मिति : २०८१ साउन २ गते बुधबार