
सुर्खेत । सुर्खेतकै पुरानो इगरब्रिज माध्यमिक विद्यालयले आफ्नै स्विमिङ पुल सञ्चालनमा ल्याएको छ । वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले चोकमा रहेको विद्यालयले आफ्नै लगानीमा विद्यार्थीहरूलाई लक्षित गरी स्विमिङ पुल सञ्चालनमा ल्याएको हो ।
करिब ९० लाख लागतमा निर्माण गरिएको पुलको शुक्रवार औपचारिक रूपमा उद्घाटन गरिएको विद्यालयका प्रिन्सिपल दिपेन भुसालले जानकारी दिए । विद्यार्थीहरूलाई अतिरिक्त खेलका रूपमा सिकाई होस् भनेर स्विमिङ पुलको स्थापना गरिएको उनले बताए।
स्विमिङ पुलको लम्बाई १९ मिटर, चौडाइ ८ मिटर र साढे ५ फिट गहिराइ छ । त्यस्तै साना नानीबाबुहरूको लागि छुट्टै सानो दुईदेखि ३ फुटसम्मको पुल समेत बनाइएको छ । स्विमिङ पुलको उद्घाटनपश्चात् संक्षिप्त प्रतिक्रिया दिँदै विद्यालयका प्रशासन प्रमुख कृष्णा न्यौपाने भुसालले विद्यार्थीले सिक्नै पर्ने सीप मध्ये स्विमिङ पुल पनि महत्त्वपूर्ण भएकाले विद्यालयले यसको सुरुवात गरेको बताए ।
विद्यार्थी केवल शैक्षिक क्षेत्रमा मात्र नभई संस्कार र सीपमा पनि परिपक्व हुनुपर्ने बताउँदै प्रशासन प्रमुख भुसालले विद्यार्थीले पौडी खेल्न जानेमा उसको शारीरिक विकासमा समेत सहयोग पुग्ने बताए ।