कुलेन्द्र शाही, सुर्खेत
नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिने भएका छन् । सोमबार समर्थन फिर्ता लिएको पत्र र राजीनामा पत्रसँगै बुझाउने तयारी गरिएको माओवादी प्रदेश सभा दलका प्रमुख सचेतक तथा ऊर्जा तथा जलस्रोत मन्त्री रणसिंह परियारले जानकारी दिए ।
दलका नेताबाट समर्थन फिर्ताका लागि आउनुपर्ने पत्र नआएकाले हालसम्म ढिलाइ भएको उनले बताए । ‘औपचारिक रूपमा दलका नेताको पत्र पनि आएको छैन, मुख्यमन्त्री पनि केही समयअघि मात्र सुर्खेत आउनुभएको हुनाले हामीले राजीनामा दिन नसकेका हौँ,’ उनले भने, ‘मुख्यमन्त्री आउँदा दलको नेताको पत्र आएको थिएन, अब आज (आइतबार) पत्र आउँदैछ, हामीले सोमबार समर्थन फिर्ता लिने र राजीनामा दिने सँगै गर्छौँ । ’
उनका अनुसार काठमाडौँमा भएका संसदीय दलका नेता राजकुमार शर्माले इमेलमार्फत आधिकारिक पत्र पठाउँदैछन् । यस अघिसम्म कर्णालीमा माओवादीले केन्द्रमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने दिनसम्म कुरेको थियो ।
प्रचण्डले विश्वासको मत नपाएपछि मन्त्रीबाट राजीनामा दिने तयारी गरेपछि मुख्यमन्त्री र दलका नेता प्रदेशमा नभएपछि अड्किएको थियो । मुख्यमन्त्री यामलाल कँडेले शुक्रवार सुर्खेत आएका छन् । मुख्यमन्त्री कँडेलको नेतृत्वमा कर्णाली प्रदेश सरकारमा माओवादीबाट चार जना मन्त्री सहभागी छन्।
महेन्द्र केसी आर्थिक मामिला तथा योजना मन्त्री, रणसिंह परियार जलस्रोत तथा ऊर्जा विकास मन्त्री, दुर्गबहादुर रावत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र वीरबहादुर शाही सामाजिक विकास मन्त्री छन् । यसअघि केन्द्रमा माओवादी र एमालेबिच दोस्रो पटक गठबन्धन हुँदा कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा सरकार बनेको थियो ।
उनको नेतृत्वमा माओवादीबाट यी चार जना मन्त्री बनेका थिए । कर्णाली सरकारबाट माओवादीले समर्थन फिर्ता लिएपछि नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धनमा सरकार निर्माण हुनेछ। हाल एमालेबाट मुख्यमन्त्री रहेका कँडेलकै नेतृत्वमा केही समय नेपाली काँग्रेस सरकारमा जानेछ ।
प्रतिपक्षमा माओवादी
कर्णालीमा माओवादी पहिलो पटक प्रतिपक्षमा बस्ने भएको छ । प्रदेश स्थापनाका ६ वर्षमा दुईपटक सरकारको नेतृत्व लिएको माओवादी कर्णालीमा हालसम्म प्रतिपक्षीमा बसेको थिएन । यसपटक भने नयाँ समीकरण हुँदा कर्णालीमा दुई दल एमाले र काँग्रेसको सरकार बनाउन बहुमत पुग्नुभएपछि माओवादी पहिलो पटक प्रतिपक्षमा पुगेको हो । माओवादी प्रदेश सभा दलका प्रमुख सचेतक परियारले आफूहरूले निष्पक्ष रूपमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।
काँग्रेसमा अन्यौलता
कर्णालीमा माओवादीले सोमवार राजीनामा र समर्थन फिर्ता लिने तयारी गरिसक्दा पनि सरकारमा सहभागिता बारे काँग्रेस भित्र अन्यौलता देखिएको छ । गुटभित्र कुरा नमिल्दा सरकारको सहभागिताबारे अन्यौलता देखिएको स्रोतले जनाएको छ । काँग्रेसभित्र सरकारमा कसलाई पठाउने भन्ने विषयमा कुनै पनि औपचारिक छलफल नभएको काँग्रेसका प्रमुख सचेतक हिक्मत विष्टले बताए ।
पार्टीको नेतृत्वबाट आउने निर्देशनका आधारमा आफूहरू अगाडी बढ्ने बताए । ‘हामीहरूले सामान्य छलफल गरेपनि सरकारमा छलफल हुनेबारे औपचारिक रूपमा केही छलफल गरेका छैनौँ ।’ उनले भने ‘माओवादीका साथीहरूले पनि राजीनामा दिनुभएको छैन । तपाईहरु छोड्नुहोस् हामी सरकारमा सहभागी हुन्छौँ पनि भन्नु भएन ।’ सचेतक विष्टले थपे ‘अब पार्टीले कहिले र कसलाई मन्त्री बनाउन छ । हामीले पार्टीको निर्णय कुरेका छौँ । छलफलमा बसेर सहमतिका आधारमा केही निर्णय आउला नि’ ।
मन्त्रीको लागि काँग्रेस संसदीय दलका प्रमुख सचेतक विष्टले आकाङ्क्षा गरेको स्रोतले बताएको छ । ‘मन्त्री हुनका लागि सबैले इच्छा देखाएका छन्, त्यो मध्ये पनि प्रमुख सचेतक विष्टले आफू मन्त्री हुनका धेरै इच्छा देखाउनुभएको छ ।’ स्रोतले भन्यो ।’
उनी मन्त्री हुने सम्भावना पनि बलियो देखिएको छ ।
४० सदस्यीय प्रदेश सभामा नेकपा एमालेका १० जना सांसद छन् । नेपाली काँग्रेसका हाल १४ जना सांसद छन् । काँग्रेसका १५ जना सांसद रहेकोमा संसदीय दल नेता जीवन शाहीलाई वाइडबडी काण्डमा मुद्दा लागेपछि उनी निलम्बित छन् । प्रदेश सभामा माओवादीका १३, समाजवादीका १ र राप्रपाका १ जना सदस्य छन् ।यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।