२०८३ वैशाख १२ , शनिबार

१७ लाख घुस बोकेर विद्युत् प्राधिकरण कर्णालीका हाकिम काठमाडौंमा 



सुर्खेत । कर्णालीमा विद्युतिकरण गर्ने जिम्मेवारी पाएको नेपाल विद्युत प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालय प्रमुख शम्भु कुसेत यादव कार्यालयमै बसेर ठेकेदार कम्पनीसँग घुस असुली गर्न व्यस्त छन् ।

कार्यालय प्रमुख यादवले घुसको दररेट नै तय गरेका छन् । उनले हरेक आयोजनाबाट ७ प्रतिशतसम्म घुस मागदावी गर्ने र तोकिएको पैसा नपाउँदा काम नै रोक्ने गरेको सरोकारवालाको गुनासो छ । कार्यालय प्रमुख यादवले सरकारले दिने तलब भत्ताबाहेक एक रुपैयाँ पनि कहिँकतैबाट नलिएको दावी गरेका छन् ।

तर यादवले ठेकेदारसँग घुस लिने स्थानहरु, घुस लिएका उदाहरणसहितका विवरण प्रधानमन्त्रीको कार्यालयसम्म पुगेको छ । सुरक्षा निकायहरुले संकलन गरेको ती विवरण प्रधानमन्त्रीको कार्यालयमा पुगेको हो ।

रिर्पोटमा भनिएको छ, ‘एउटा आयोजना अघि बढाउँदा यादवले दुई बर्षअघि १७ लाख रुपैयाँ पैसा घुस वापत कार्यालयबाटै लिए । घुस दिनेले त्यो १७ लाख रुपैयाँ हालिएको कालो झोला फिर्ता लिन खोज्यो, तर उनले अर्को झोला भएन भनेर त्यो झोलासहित घुसवापतको पैसा बोकेर कार्यालयबाट निस्किए ।’

तीनै यादवले सोहि आयोजनाको ठेकेदार कम्पनीसँग १५ दिन अघि काठमाडौँमा फेरि अर्को घुस बुझेका छन् । सोही कार्यालयका एक कर्मचारीका अनुसार कार्यालय प्रमुख यादवले काम गर्ने भन्दा कहाँबाट कति कमिशन, घुस आउँछ भन्नेमा ध्यान दिने गरेको आरोप लगाए ।

ती कर्मचारीको आरोप र कार्यालय प्रमुख यादवमाथि तयार पारेर प्रधानमन्त्रीको कार्यालय पुगेको विवरणहरु ठ्याक्कै मिल्छ ।

कस्तो छ घुसको दररेट ?

कार्यालय प्रमुख यादवले ठेक्का एग्रीमेन्ट भएलगत्तै कुल ठेक्का रकमबाट भ्याट र टिडियस कटाएर बाँकी हुन आउने कुल बजेटको २ प्रतिशत घुस लिन्छन् । त्यसपछि प्रत्येक रनिङ्ग बिलबाट ५ प्रतिशतसम्म घुस उठाउँछन् र ठेक्का पुरा भएर अन्तिम भुत्तानीमा अतिरित्त ५ प्रतिशतसम्म घुस लिन्छन् ।

तर आफूमात्रै खाँदैनन्

कार्यालय प्रमुख यादवले ठेक्का लगाएवापत, विल भुत्तानी गरेवापत ठेकेदारसँग एक्लै घुस खाँदैनन् । आफ्नो मागअनुसारको रकम पाएपछि यादवले भन्छन्, ‘इञ्जिनियर र लेखालाई पनि मिलाउनुस् ।’ उनले आफूले पाएको रकम बाँडफाँड होईन, ईञ्जिनियर र लेखालाई पनि रकम दिन झन्छन् । त्यसरी हरेक पाइलामा घुस बार्गेनिङ्ग गर्दा आयोजना कमजोर बन्दै गएको र आर्थिक सुशासनमा ठूलो समस्या आएको रिर्पोटमा उल्लेख छ ।

यादवले घुस खाने विन्दुहरु

सुर्खेतमा रहँदा यादवले विस्वास जितेका ठेकेदारहरुसँग कार्यालयभित्रै पैसा लिन्छन । यादवले १७ लाख रुपैयाँ घुस रकम सहितको झोला आफ्नो कार्यालयभित्रै लिएका थिए ।

त्यसबाहेक सुर्खेतमा उनले नमस्ते होटलको रेस्टरेन्टहरुमा घुस बुझ्छन् । त्यसबाहेकका केहि रेष्टुरेन्टहरु पनि छन् । काठमाडौँमा आउँदा रत्नपार्क आसपासका विभिन्न रेष्टुरेन्टहरुमा बसेर उनले घुसवापतको रकम बुझ्दै आएका छन् । नेपालवाच

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहीबार