डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको आयोजनामा जारी सर्वाधिक राशिको चौथो मेयर कप खुला पुरुष भलिबल प्रतियोगितामा सानी भेरी गाउँपालिका रुकुम पश्चिम सेमीफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको पहिलो क्वाटरमाफाइनल खेलमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त खेलाडीले भरिपुर्ण सानीभेरीको टिमले नलगाड नगरपालिका जाजरकोटको टिमलाई २–१ को सेटमा हराउँदै सेमीफाइनलमा प्रवेश गरेको हो ।
क्वाटरफाइनलको पहिलो सेट नलगाडले जिते पनि बाँकी २ सेट भने सानीभेरीले जितेको थियो । सानीभेरीको टिम समूह चरणको खेलमा समूह ‘क’बाट विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो भने नलगाड नगरपालिकाको टिम समूह चरणको खेलमा समूह ‘ग’बाट उपविजेता हुँदै क्वाटरफाइनल प्रवेश गरेको थियो । क्वाटरफाइनलमा सानीभेरीसँग हारेसँगै नलगाडको टिम बाहिरिएको छ ।
सानीभेरीको भलिबल टिमलाई सायरा आयल स्टोर्सले प्रायोजन गरेको हो भने नलगाडको टिमलाई किङ कन्स्ट्रक्सनले प्रायोजन गरेको हो । बुधबार बिहान हुने क्वाटरफाइनल खेलमा ठूलीभेरी नगरपालिका डोल्पाको यार्सा स्पोर्ट्स र त्रिपुरासुन्दरी नगरपालिका–४ को रंगाली युवा क्लबबीच हुने छ ।
त्यस्तै रुकुम पश्चिमको आठविसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाबीच र त्रिपुरासुन्दरी नगरपालिका–६ र त्रिपुरासुन्दरी नगरपालिका–१ बीच क्वाटरफाइनल खेल हुनेछ । कात्तिक १० गतेदेखि शुरु भएको प्रतियोगितामा जिल्लाभित्र र बाहिरका गरेर १९ भलिबल टिमले भाग लिएका थिए । प्रत्येक टिमलाई ४ समूहमा विभाजन गरिएको थियो ।
बुधबार नै सेमिफाइनलका सबै खेल खेलाएर बिहीबार फाइनल खेल हुने आयोजक त्रिपुरासुन्दरी नगरपालिकाले जानकारी दिएको छ । आयोजक त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हीराचन्द्र धरलाका अनुसार प्रथम हुने टिमले तीन लाख नगदसहित ट्रफी र मेडल, द्वितीय हुनेले दुई लाख नगदसहित ट्रफी र मेडल तथा तृतीय हुने टिमले १ लाख नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने छन् । यसैगरी प्रतियोगितामा सान्त्वना हुने टिमले २० हजार नगद प्राप्त गर्ने छ ।