२०८३ वैशाख ८ , मंगलबार

मौसमको पूर्वामान गर्ने मौसमी राडार लामो समयदेखि बन्द

सञ्चालनको लागि थानीले लेखे ऊर्जालाई पत्र


कुलेन्द्र शाही, सुर्खेत । १७ मङ्सिर २०७६ मा नेपालमै पहिलो पटक मौसमको पूर्वामान गर्न ‘रेडियो डिटेक्सन एण्ड रेन्जिङ’ (मौसमी राडार) सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ को रातानाङ्लामा स्थापना गरियो । विशेष गरी पश्चिमी क्षेत्र लुम्बिनीका तीन जिल्ला बाँके, बर्दिया, दाङ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसमी गतिविधिको निगरानी गर्न राडार जडान गरी सञ्चालनमा ल्याइएको थियो ।

त्यति बेलाको एक वर्षअघि संरचना निर्माण सम्पन्न भएको मौसमी राडारको तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देशकै पहिलो मौसमी राडारको उद्घाटन गरेका थिए । राडार उद्घाटनपछि मन्त्री पुनले भनेका थिए, ‘हामीले आकाशमै हेरेको भरमा मौसमको पूर्वानुमान गर्दै आएका थियौँ, प्रविधिबाट प्राप्त हुने वास्तविक तथ्याङ्क नपाउँदा समस्या रहँदै आएको थियो ।’ अब अनुमानका भरमा नभई वास्तविक तथ्याङ्क प्राप्त हुनेछ ।’

उक्त राडार स्थापनासँगै यहाँको मौसमी स्थिति र आउन सक्ने विपद्लाई नजिकबाट अवलोकन गर्न सहज हुने बताइएको थियो । त्यति मात्रै होइन राडारले वर्षा हुनुभन्दा तीन/चार घण्टा अघि र पछि मौसममा आउन सक्ने फेरबदल अर्थात् कति वर्षा हुँदैछ, हावा कुन गतिमा कहाँबाट बहँदै छ, तापक्रम घटबढको अवस्था र आँधी हुरी तथा बाढी पहिरोको पूर्वानुमान गर्ने बताइएको थियो ।

त्यसले पश्चिम नेपालमा प्रकोपबाट हुन सक्ने विपद् जोखिमलाई न्यूनीकरणमा सघाउ पु¥आउने भनिएको थियो । तर, झण्डै तीन वर्षदेखि उक्त राडार बन्द अवस्थामा छ । केही वर्षअघि राडारमा परेको चट्याङले उपकरणमा क्षति पुगेपछि अहिले राडार कामविहीन बनेको छ । विश्व बैङ्कको १८ करोड लागतमा तयार भएको राडारमा चट्याङ परेर केही उपकरण तथा इन्भर्टर र जेनरेटरमा क्षति पुगेको छ ।

सरकारले बिग्रिएको राडार मर्मतमा ध्यान पु¥याउन नसक्दा यहाँका नागरिकलाई अन्दाजका भरमा मौसमको पूर्वानुमान गर्नुपर्ने बाध्यता छ । सुर्खेतमा स्थापना भएको मौसम पूर्वानुमानसहितको तत्काल सूचना दिने यस्ता राडार नेपालमा तीन वटा मात्र छन् । जसमा पाल्पा र उदयपुरमा जडान भएका राडारले पूर्वी नेपालको मौसमी गतिविधिको निगरानी गर्ने गर्दछन् ।

मर्मतका लागि जल तथा मौसम विज्ञान विभागले चार पटकसम्म सूचना आह्वान गर्दा हालसम्म कुनै पनि परामर्शदाता कम्पनी सम्पर्कमा नआउँदा समस्या भइरहेको जनाइएको छ । मर्मत तथा सञ्चालनका हिसाबले महँगो रहेको यो प्रविधि बिग्रिएको तीन वर्षसम्म पनि मर्मतका लागि रकम अभाव हुँदा समस्या भएको प्रवक्ता विभागको भनाइ छ ।

राडार सञ्चालन ल्याउन सांसद थानीको आग्रह
प्रतिनिधिसभाका सांसद हृदयराम थानीले सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१३ मा रहेको मौसमी राडार सञ्चालनमा ल्याउन आग्रह गरेका छन् । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको जलवायु जानकारी दिने मौसमी राडार दुई वर्षदेखि बिग्रिएको र यसलाई सञ्चालनमा ल्याउन सांसद थानीले माग गरेका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बनाउनका लागि माग गर्दै मौसमी राडार स्पेर पार्टस बिग्रिएका कारण २ वर्षदेखि सञ्चालनमा नहुनु विडम्बनापूर्ण अवस्था रहेको थानीले बताए । ‘विपद् व्यवस्थापनका लागि अति महत्वपूर्ण मौसमी सूचना, हावापानी पूर्वानुमान, वर्षाको गति साथै विपद्का लागि अत्यावश्यक र संवेदनशील सूचना दिने प्रणाली अवरुद्ध हुनु कर्णाली प्रदेशका लागि त झनै जोखिमपूर्ण अवस्था हो,’

उनले भने, ‘तसर्थ, वर्षाको समय नजिकिँदै गरेको अवस्थालाई मध्यनजर गरी जोखिम न्यूनीकरण र विपद् व्यवस्थापनका लागि मौसमी राडारलाई यथाशीघ्र सञ्चालन ल्याई सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउनेतर्फ तीन वटै तहका सरकारले गम्भीर रूपले सोच्नु जरुरी छ ।’ यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २०८१ चैत ५ गते मंगलबार