२०८३ वैशाख ५ , शनिबार

वीरेन्द्रनगरका प्रमुख/ उप प्रमुखकाे पदवहाली



  नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश ईन्चार्ज यमलाल कँडेलले तत्काल सुर्खेत विमानस्थल विस्तारकाे निर्णय हुनुपर्नेमा जाेड दिएका छन्।
वीरेन्द्रनगरमा मंगलबार नवनियुक्त नगर प्रमुख, उप प्रमुख, वडा अध्यक्ष र सदस्यहरुका लागि आयाेजित सपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्वाेधन गर्दै कँडेलले चर्चामा रहेको रामघाटमा एयरपोर्टकाे संभावना बारे पूर्वमन्त्री रवीन्द्र अधिकारीले फिल्डमै आएर भ्रमण गरेको उल्लेख गरे। नयाँ एयरपोर्ट बनाउन समय लाग्ने भएकोले हालकाे एयरपोर्ट विस्तार गर्नेतर्फ लाग्नुपर्नेमा जाेड दिए।
वीरेन्द्रनगर नगर पालिका पुरानो ढर्रामा चल्न नहुनेमा जाेड दिदै जनताका समस्या पहिचान गरेर अघि वढ्न उनलेे निर्वाचित कमिटीलाई सुझाव दिए। देवकुमार सुवेदीले नेतृत्व गरेको नगर पालिकाले काम गर्न नसकेको आराेप लगाउदै कँडेलले ५ वर्षसम्मपनि मंगलगढिवाट लाटिकाेईलीसम्म वाटाे बन्न नसकेको प्रती गुनासो गरे। चक्रपथ निर्माण,डुवान लगायतका कामहरु अघिल्लो नगर सरकारले गर्न नसकेको उनको भनाई थियोे।
वडागत रुपमा बजेट बिनियाेजन गर्ने प्रचलन वेठिक भएको भन्दै आवश्यकताका आधारमा योजना छनाैट गरि कार्यान्वयन गर्नुपर्नेमा उनलेे जाेड दिए। अघिल्लो पटक जस्तो प्रमुखले उप प्रमुख र उप प्रमुखले प्रमुखलाई देखाएर भाग्ने छुट अहिलेकाे कार्यसमितिलाई नभएकोतर्फ उनलेे सतर्क गराए। अहिलेकाे नगर सरकारले गलत गर्दा एमाले पार्टीले अपजसकाे भारी वाेक्नुपर्ने उनकाे भनाइ थियाे। निर्णय गर्दा विधि र प्रकृया मिच्न नहुने उनलेे वताए।
सपथ ग्रहण तथा पदवहाली कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख, उप प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सुर्खेतका राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, वीरेन्द्रनगरका निवर्तमान प्रमुख देवकुमार सुवेदी, पूर्व प्रमुख वालाराम शर्मा लगायतको उपस्थिति रहेको थियाे।
सपथग्रहण लगत्तै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख माेहनमाया ढकाल र उपप्रमुख निलकण्ठ खनाल वीरेन्द्रनगर ४ मा अवस्थित सहिद पार्क पुगेका थिए। सहिद स्तम्भमा माल्यार्पण गरेर उनीहरू सिधै नगरपालिका फर्केर पदभार ग्रहण गरेका थिए।
नवनिर्वाचित प्रमुख माेहनमाया ढकालले गत जेठ ८ गते नै सुर्खेतका सवै पालिका प्रमुखहरुसंगै पद तथा गोपनियताको सपथ लिईसकेकी थिइन् । तर आइतबार सार्वजनिक विदा भएकाले उनले सो दिन पदभार ग्रहण गरिनन्।
प्रमुख ढकालले मंगलबार उपप्रमुख निलकण्ठ खनाललाई शुरुमा र त्यसपछि वडाध्यक्ष र वडा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाएकी थिईन।
पदभार ग्रहणपछि प्रमुख ढकालले नेपालको संविधानमा उल्लेखित मौलिक हक वीरेन्द्रनगरवासीलाई पूर्णप्रत्याभूत गराउने निर्णय गरेकी छन् । ‘नजिकको सरकार स्थानीय सरकार भएकाले त्यसको कार्यान्वयनका लागि हाम्रो दायित्व अझ बढी हुन्छ,’ ढकालले भनिन्, ‘संविधानमा व्यवस्था भएका मौलिक अधिकारहरुको प्रत्याभूत गराउने दायित्व नगर प्रमुखको भएकोले पाँच वर्षमा नागरिकहरुलाई मौलिक अधिकार कार्यान्वयनको अनुभूति दिलाउनेछु ।’ नगरपालिकाबाट प्रवाह हुने सेवा सुविधालाई चुस्त र दुरुस्त बनाउने उनले प्रतिवद्धता जनाईन।

यसैबीच,  पदभार ग्रहण कार्यक्रममा प्रमुख ढकालले वीरेन्द्रनगरका तीन जनालाई आर्थिक सहयोग लागि सिफारिस गरेकी छन् । घातकजन्य रोगबाट ग्रसित वीरेन्द्रनगरका तीन जनालाई जनही रु एकलाख रकम प्रदान गर्ने उदेश्यले सिफारिस गरिएको हो ।
पदभार ग्रहण गर्दै उपप्रमुख खनालले वीरेन्द्रनगर कार्यक्षेत्र बनाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुकाे बजेट तथा कार्यक्रम माग गरि आगामी नगर योजनामा समावेश गर्ने निर्णय गरेका छन्।

प्रकाशित मिति : २०७९ जेठ १० गते मंगलबार