जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकाले कृषकलाई गहुँको बीउ वितरण गरेको छ । शुक्रबार गाउँपालिकाकाे कृषि शाखाले गाउँपालिकाका ९ वटै वडाका कृषकलाई दुई जातको गहुँको बीउ वितरण गरेको हो ।
गाउँपालिकाको कृषि शाखाले यस वर्ष पालिकाको मौसम र भूगोलअनुसार उपयुक्त ठहरिएका दुई किसिमका गहुँ जात — स्वर्गद्वारी र WK १२०४ वितरण गरेको पालिकाका कृषि शाखा प्रमूख अरुण चपाईले जानकारी दिए।
पालिकाले ५० प्रतिशत अनुदान र स्थानीय कृषकको ५० प्रतिशत स्व-लागतमा प्रती के.जी ९० रुपैयाँका दरले कृषककाे माग अनुसार ११ क्विन्टल स्वर्गद्वारी र ११ क्विन्टल WK १२०४ जातकाे गरी कुल २२ क्विन्टल बीउ वितरण गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल बहादुर शाहीले जानकारी दिए।
उनले बीउ छर्दा राम्रो व्यवस्थापन र प्राविधिक सल्लाहअनुसार खेती गरे उत्पादन राम्रो हुने बताए। पहाडी क्षेत्रमा गहुँको खेती गर्नको यी दुइ जात सुहाउँदो भएकाले सुर्खेतको गुर्भाकोटको मेहलकुनाबाट बीउ खरिद गरेर किसानलाई वितरण गरेको बताए।
शाखाले कुनै पनि बाली लगाउने योजना भएमा दुई महिना अगावै जानकारी गराएमा आवश्यक सेवा र परामर्श उपलब्ध गराइने समेत कृषकलाई जनाएको छ।
बिउ वितरणको बेला गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाहीले कृषकको सहजताको लागि प्राविधिकहरूलाई खेतमै पठाइने र पालिकाले मल आपूर्तिका लागि आवश्यक समन्वय गर्ने जानकारी दिए । उनले कृषकका मागअनुसार बीउ, मल र आधुनिक हलो उपलब्ध गराउन पहल गर्ने समेत प्रतिबद्दता जनाए ।