२०८३ वैशाख ३ , बिहीबार

सल्यानमा रातो प्लेटका २९ सवारीसाधन प्रहरी नियन्त्रणमा



सुर्खेत। सल्यान जिल्लाका विभिन्न स्थानबाट रातो प्लेट भएका सवारीसाधनले अवैध रूपमा यात्रु ओसारपसार गरेको भन्दै २९ वटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय सल्लीबजार, श्रीनगर, लुहाम, अस्थायी प्रहरी पोष्ट बालुवासंग्रही लगायतका ठाउँबाट अप्रेशन सञ्चालन गरेर खटिएका टोलीहरूले १३ इलेक्ट्रिक भ्यान, ८ डबल क्याब र ८ जिप गरी २९ वटा गाडीहरू नियन्त्रणमा लिएको हो।

रातो प्लेटका गाडीले यात्रु बोक्न नपाउने कानुनी व्यवस्था भए पनि ती सवारीसाधनले धमाधम यात्रु ओसारपसार गरिरहेका कारण सो सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर केसीले जानकारी दिए। उनले गाडीधनीले रातोबाट कालो प्लेटमा परिवर्तन नगरेसम्म नियन्त्रणमा लिइएका गाडी फिर्ता नदिने बताए।

उनले भने, ‘गाडीधनीले रातोबाट कालो प्लेटमा रूपान्तरण नगरेसम्म गाडी फिर्ता पाउँदैनन्।’ उनका अनुसार केही गाडी धनीले भने बिहीबार नै कालो प्लेटका लागि यातायात कार्यालयमा प्रक्रिया अगाडि बढाएका छन् ।

उनले भने, ‘यस्ता गाडी दुर्घटनामा परे यात्रुले उपचार खर्चलगायत क्षतिपूर्ति पाउन नसक्ने हुन्छ। त्यसैले भविष्यमा समस्या रोक्नका लागि प्रहरीले गाडी नियन्त्रणमा लिएको हो।,’ उनका अनुसार यो अभियान निरन्तर चलिरहने छ।

प्रकाशित मिति : २०८२ मंसिर ११ गते बिहीबार