२०८२ माघ १७ , शनिबार

बिन्द्रासैनी स्वास्थ्य चौकीबाट नगर अस्पताल सञ्चालन हुँदै



दैलेख । चामुण्डाबिन्द्रासैनी नगरपालिकाको बिन्द्रासैनी स्वास्थ्य चौकी अब केही समयपछि १५ शय्याको नगर अस्पतालका रूपमा सञ्चालनमा आउने तयारीमा छ । वर्षौँदेखि सामान्य उपचारमै सीमित स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै नगर अस्पताल सञ्चालन गर्ने नगरपालिकाको निर्णयलाई स्थानीयवासीले नयाँ आशाका रूपमा हेरेका छन् । शुक्रवार सम्पन्न चामुण्डाविन्द्रासैनी नगरपालिकाको १८ औँ नगर सभाले नगर अस्पताल सञ्चालनका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेसँगै योजना औपचारिक रूपमा अघि बढेको हो ।

नगरपालिकाले सीमित स्रोतसाधनका बाबजुद स्थानीय नागरिकलाई आफ्नै ठाउँमा स्वास्थ्य सेवा उपलब्ध गराउने बताइएको छ । यो निर्णयले विगतको एउटा तितो यथार्थलाई पनि सम्झाएको छ । आर्थिक वर्ष २०७७/०७८ मा सङ्घीय सरकारले १५ शय्याको अस्पताल निर्माणका लागि १८ करोड रुपैयाँ बजेट विनियोजन गरी काम सुरु गरेको थियो । ठुला अपेक्षासहित सुरु भएको उक्त अस्पताल निर्माण हाल अलपत्र अवस्थामा छ ।

१८ औँ नगर सभामा नगर प्रमुख गणेशकुमार शाहीले नगर अस्पताल सञ्चालन नगरपालिकाको आवश्यकता भएको उल्लेख गरे । सङ्घीय तहबाट सुरु भएको अस्पताल निर्माण सम्पन्न नहुँदा पनि नगरपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर आफ्नै पहलमा सेवा विस्तार गर्नुपरेको उनको भनाइ छ । नगर सभामा उप–प्रमुख मनसराकुमारी शर्माले संशोधित आर्थिक ऐन पेस गर्दै स्वास्थ्य क्षेत्रलाई समेटेर नगरपालिकाको आर्थिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्य रहेको बताइन् ।

संशोधित ऐनमार्फत विकास र सेवा प्रवाहलाई सन्तुलित ढङ्गले अघि बढाइने जनाइएको छ । यस्तै, प्रमुख प्रशासकीय अधिकृत भलराम पंगालीले नगर अस्पताल सञ्चालनका लागि आवश्यक प्रक्रिया, पूर्वाधार र जनशक्ति व्यवस्थापन चरणबद्ध रूपमा अघि बढाइने जानकारी दिए । नगर सभाबाट विनियोजित बजेट कार्यान्वयन गरी छिट्टै नगर अस्पताल सञ्चालनको तयारी थालिने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२ पुस ११ गते शुक्रबार