२०८३ वैशाख २६ , शनिबार

कर्णालीमा जटिल बन्दै मानसिक रोगको समस्या



असोज २४, सुर्खेत

लकडाउनको अवधिमा कर्णालीमा ‘मानसिक टर्चर’मा पर्ने व्यक्तिहरुको संख्या गत बर्षको तुलनामा चौगुणाले वृद्धि भएको पाइएको छ ।
एक अध्ययनको तथ्याङ्कअनुसार विभिन्न कारणले मानसिक रुपमा टर्चरमा पर्ने व्यक्तिको संख्या चौगुणाले बढेको हो । रोजगारी गुमेका तथा व्यवसायमा घाटा बेहोरेकाहरु मध्ये ५९ प्रतिशत मानसिक टर्चरमा रहेको पाइएको हो, जुन गत बर्षको तुलनामा अत्याधिक धेरै हो ।
घर परिवार भित्रै विभिन्न कारणले हुने मानसिक तनावमा यो बर्ष ६३.५ प्रतिशत छन् भने गत बर्ष यो संख्या जम्मा १३.५ प्रतिशत मात्र थियो ।
यस्तो हुनुमा लकडाउनको समयमा विभिन्न घरेलु हिंसा, व्यवसाय धरासायी, रोजगारी गुम्नु लगायतका कारणहरु रहेको मनोचिकित्सकहरुले बताएका छन् ।
प्रदेश अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डा. शुसिल समदर्शीका अनुसार कोभिडको यो अवधिमा कर्णालीमा मानसिक रोगीहरुको संख्यामा वृद्धि भएको पाइएको छ । ‘अझ भन्नुपर्दा कर्णालीमा कतिपयले गरिबीका कारण पनि आत्महत्या गर्ने गरेको देखिन्छ,’ उनले भने,‘कर्णालीको भौगोलिक विकटता, अशिक्षा, गरिवी नै मानसिक रोगका प्रमुख कारण हुन् ।’
कोरोनाका डरले पनि धेरै मानिसहरु मानसिक रोगी हुन पुगेको भन्दै यसतर्फ सरकारले विशेष कार्यक्रम बनाउनुपर्ने मनोविदहरुले जोड दिएका छन् ।

कर्णालीमा गत चैत यता मात्रै विभिन्न प्रकृतिका ३ सय ६१ घटना भएको प्रदेश महिला प्रहरी सेलको तथ्याङ्कले देखाएको छ । प्रहरीमा दर्ता भएका उजुरीहरु मध्ये सबैभन्दा धेरै घरेलु हिंसाका एक सय ८ ओटा रहेका छन् ।
त्यसैगरी आत्महत्याका घटनाहरु पनि तिव्र रुपमा बढेको पाइएको छ । ६ महिनाको अवधिमा कर्णालीमा ९७ वटा आत्महत्याका घटनाहरु भएका छन् । यस्तै जवरजस्ती करणीका ६१, बहुबिवाहका २९ घटना, भवितब्य ज्यान २२ वटा र जवरजस्ती करणी उद्योगका २० वटा घटना भएको प्रहरीले जनाएको छ ।
बालबिबाहका ७ वटा, कर्तव्य ज्यान मुद्धाका ६ वटा, बोक्सीको आरोपमा ४ वटा घटना भएका छन् । प्रहरीको तथ्याङ्कलाई केलाउँदा सबैभन्दा धेरै घटना घरेलु हिंसा र आत्महत्याका घटना धेरै भएको देखिन्छ । कोरोना भाइरस र त्यसपछिको लगातारको लकडाउनका कारण मानिसहरुमा घरमै बस्दा भय र चिन्ता बढेका कारण यी घटनाहरु वृद्धि भएको प्रहरीको निश्कर्ष छ ।
यी घटनाहरु अझै बढ्न सक्ने भन्दै मानसिक समस्या निम्तिन सक्नेतर्फ मनोचिकित्सकहरुले सचेत बनाएका छन् । मानसिक रोगीहरु सबैजसो अस्पताल आउन नमान्ने गरेको मानसिक स्वास्थ्यका बारेमा विभिन्न चेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिरहेको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्काले जानकारी दिए । खड्काले भने, ‘मानसिक रोगका बारेमा सबैले समयमै सचेत हुन जरुरी छ ।’

प्रकाशित मिति : २०७७ असोज २४ गते शनिबार