२०८३ मंसिर ८ , सोमबार

कर्णाली रंगशालाको उद्घाटनसँगै शिलालेखमा नामको चर्चा



जगदिश शाही

सुर्खेत ।कर्णाली प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा निर्माण सम्पन्न भएको कर्णाली प्रदेश रंगशालाको हस्तान्तरण तथा औपचारिक उद्घाटन सोमबार सम्पन्न भएको छ। तर, उद्घाटनसँगै रंगशालामा राखिएको शिलालेखमा उल्लेखित राजनीतिक पदाधिकारीहरूको नामले सार्वजनिक चर्चा पाएको छ।

मुख्यमन्त्री मंगलबहादुर शाहीले रिबन काटेर रंगशालाको औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कल्याणी खड्का र भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्कालगायतको उपस्थिति रहेको थियो।

कर्णालीको खेलकुद विकास, खेलाडी उत्पादन तथा राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यले निर्माण गरिएको रंगशालालाई प्रदेशको महत्वपूर्ण खेल पूर्वाधारका रूपमा हेरिएको छ।

यसैबीच, रंगशालामा राखिएको शिलालेखमा पाँच जना मुख्यमन्त्री र एक जना मन्त्रीको नाम उल्लेख गरिएको पाइएको छ। शिलालेखमा पूर्वमुख्यमन्त्रीहरू महेन्द्रबहादुर शाही, जीवनबहादुर शाही, राजकुमार शर्मा र यामलाल कँडेलसँगै बहालवाला मुख्यमन्त्री मंगलबहादुर शाही तथा सामाजिक विकासमन्त्री जीतबहादुर मल्लको नाम समावेश गरिएको छ।

शिलालेखमा पाँच मुख्यमन्त्री र एक मन्त्रीको नाम राखिएको विषय सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आउन थालेका छन्। कतिपयले सार्वजनिक संरचनाको शिलालेखमा राजनीतिक पदाधिकारीहरूको नाम समावेश गर्ने आधार र मापदण्डबारे प्रश्न उठाएका छन्।

प्रदेशको गौरवको आयोजनाका रूपमा निर्माण भएको रंगशालाको शिलालेखमा नाम समावेश गर्ने निर्णय कसरी र कुन आधारमा गरिएको हो भन्ने विषयमा सम्बन्धित निकायको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ।

रंगशालाको उद्घाटनसँगै अब यसको प्रभावकारी सञ्चालन, व्यवस्थापन र संरक्षणका साथै कर्णालीका खेलाडीले यसबाट अधिकतम लाभ लिन सक्ने वातावरण निर्माण गर्नु प्रदेश सरकारको महत्वपूर्ण जिम्मेवारी हुनेछ।

प्रकाशित मिति : २०८३ मंसिर ८ गते सोमबार