
काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले निवर्तमान सभापति शेरबहादुर देउवानिकट नेताहरूको बैठक आह्वान गरेका छन् ।
बैठक काठमाडौंको गल्फुटारस्थित खड्का निवासमा दिउँसो २ बजे बस्नेछ । बैठकमा पूर्वपदाधिकारी तथा देउवा पक्षीय नेताहरू सहभागी हुने जनाइएको छ ।
बैठकमा हालै सम्पन्न प्रदेशस्तरीय भेलाहरूको समीक्षा गर्ने, संगठनात्मक गतिविधिको मूल्याङ्कन गर्ने तथा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल हुने तयारी रहेको स्रोतले जनाएको छ ।
कांग्रेसभित्र पछिल्ला राजनीतिक गतिविधि र संगठन सुदृढीकरणका विषयलाई केन्द्रमा राखेर बैठक आयोजना गरिएको बताइएको छ ।
क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियाप्रति असहमति जनाउँदै आएको खड्का समूहले १६ असारमा लुम्बिनी भेला आयोजना गर्दै प्रदेशस्तरीय भेला टुंग्याएको थियो ।
यसअघि हिजो बिहीबार पूर्वउपभसापति विमलेन्द्र निधिको अगुवाइमा डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच छलफल भएको थियो । कांग्रेसको आन्तरिक राजनीतिमा तीव्र ध्रुवीकरण आइरहेका बेला संस्थापनइतरका तीन नेताबीच छलफल भएको हो ।