जगदिश शाही
कालीकोट । कोटदरबारको मुख्य सडक मर्मतबापतको रकम भुक्तानी नभएको भन्दै पूर्वकृषि मन्त्री कुर्मराज शाहीले कालीकोटको खाँडाचक्र नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्।
शाहीले कोटेसनमार्फत सडक मर्मतको काम लिएर सम्पन्न गरे पनि लामो समयदेखि भुक्तानी नपाएको भन्दै बिहीबार नगरपालिकाको मुख्य गेटमा तालाबन्दी गरेका हुन्।
उनका अनुसार आठ लाख रुपैयाँको लागत अनुमान रहेको काम पाँच लाख रुपैयाँमा गर्ने गरी उनले जिम्मेवारी लिएका थिए। दसैँअघि नै भुक्तानी पाउने अपेक्षा गरे पनि रकम नपाएपछि काममा संलग्न मजदुरसहित नगरपालिकामा पुगेर तालाबन्दी गर्नुपरेको उनले बताएका छन्।
तालाबन्दीका कारण नगरपालिका कार्यालयको सेवा करिब १५ मिनेट प्रभावित भएको थियो। त्यसपछि कर्मचारीले भित्रबाट ताला फोडेर कार्यालय खुलाएका थिए।
शाहीले आफूले काम गरेको रकम भुक्तानीका विषयमा नगरपालिकासँग कुरा हुन नसकेको र सेवाग्राहीले नै भित्रबाट ताला खोलेको बताएका छन्।
घटनाबारे नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा सम्बन्धित अधिकारीसँग प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन। भुक्तानी रोकिएको कारण र यसबारे नगरपालिकाको आधिकारिक धारणा प्राप्त हुन बाँकी छ।