सल्यान । सल्यानको कालीमाटी गाउँपालिकामा पशुमा लम्की स्किन रोगको संक्रमण देखिएको छ । जिल्लाको कालीमाटी गाउँपालिका वडा नं ४, ५, ६मा केही दिनदेखि गाई तथा गोरुहरूमा शरीरभरि नै, छालामा गिर्खा र गाँठाहरू देखिने समस्या देखिएको हो । लम्की स्किन रोगबाट गाउँपालिका वडा नं। ४, ५, ६ मा हालसम्म १० वटा गाई गोरु मरिसकेको र ९४ वटा गाई गोरु बिरामी भएको तथ्याङ्क प्राप्त भएको कालीमाटी गाउँपालिका पशु शाखा प्रमुख केशव बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार सङ्क्रमणले महामारी नै लिनसक्ने भएकाले गाउँपालिका रोग नियन्त्रणको लगि पहल थालिएको जानकारी दिए । किसानले पालेका गाई गोरुमा रोगको संक्रमण बढिरहेको तर रोगको पहिचान नभएको भन्दै स्थानीय पुरुषोत्तम भट्टराइले रोगको पहिचानको लागि पठाइएको फोटोलाई पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा देखाउँदा लम्की स्किन भएको बताइएको छ । प्रयोगशाला प्रमुख डा. विकास श्रेष्ठले रोग नियन्त्रणमा केही समस्या भए तत्काल प्रयोगशालामा ल्याबसहित सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।