२०८३ वैशाख २६ , शनिबार

मंसिर २५ पछि निर्देशिका पालना नगरे कार्वाही



सुर्खेत ०८, मंसिर

जिल्ला प्रशासन कार्यालय सुर्खेतले दुग्ध व्यवसायीहरुलाई आगामी मंसिर २५ गतेसम्ममा दुग्ध तथा दुग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर सम्वन्धी निर्देशिका २०७५ अनुरुप नचले कार्वाही गर्ने चेतावनी दिएको छ ।
आईतवार जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा दुग्ध तथा दुग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर सम्वन्धी निर्देशिका, २०७५ कार्यान्वयन गराउने सम्वन्धमा एक वैठक सम्पन्न भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका कार्यालय प्रमुख भेषबहादुर थापा र जिल्ला स्थित सरोकारवाला दुग्ध व्यवसायीहरुसंगको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सुर्खेतले दुग्ध व्यवसायीहरुलाई उक्त निर्देशिकाको कार्यान्वयन गर्न पटकपटक सम्झाईसकेको प्रमुख थापाले वताए । उक्त विषयमा ३ पटक तालिम तथा अन्तरक्रिया गराई सचेतना समेत गराइ सकेकाले अनिवार्य रुपमा निर्देशिकामा भएका प्रावधानहरु पूर्णरुपले पालना गराउन थापाले आग्रह गरे ।
निर्देशिकाले व्यवस्था गरे अनुसार डेरी उद्योगीहरुले दुध प्रशोधन (पास्चुराइजेशन, चिस्यान), लेवलिङ्ग, प्याकेजिङ्ग गरेर नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तरयुक्त दुग्धजन्य पदार्थहरु मात्र विक्री वितरण गर्न निर्देशन दिईएको र यसको कार्यान्वयन नभए कानून बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी रेग्मीले वताए ।

प्रकाशित मिति : २०७७ मंसिर ८ गते सोमबार