२०८३ वैशाख ५ , शनिबार

सुर्खेत पुगेर पौडेलले भने – अहिलेको गठबन्धनबाट देशको भविष्य छैन्



सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले गत पुस १० को गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले एमालेलेलाई धोका दिएको आरोप लगाएका छन् । सुर्खेतमा आइतबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो आरोप लगाएका हुन् । पौडेलले गठबन्धनको ध्यान पद र जिम्मेवारीमा मात्रै रहेको बताउँदै जनता र आफूहरुले गठबन्धनको तमासा हेरिरहेको बताएका छन् ।

उपाध्यक्ष पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संसदबाट दोस्रो पटक विश्वासको मत पाएको लामो समय बित्दा पनि मन्त्रिमण्डल विस्तार गर्न नसकेको बताए । आर्थिक क्षेत्रमा देखिएका समस्या र जनताका समस्या समाधानमा सरकारको ध्यान नै नगएको पौडेलले दाबी गरे । पौडेलले प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार प्रदेशका नेताहरूलाई नै भएकाले केन्द्रले कुनै हस्तक्षेप नगर्ने उल्लेख गरे । उनले प्रदेश सरकारको हकमा पार्टी केन्द्रले तत्कालै कुनै निर्देशन नदिने स्पष्ट पारे ।

‘प्रदेश सरकारमा रहेका हाम्रा मन्त्रीहरूलाई सरकार छाड्न हामीले केन्द्रमा कुनै निर्देशन दिन्नौँ,’ उनले भने,‘ सरकारमा बस्ने वा बाहिरिने उहाँहरू आफैमा निर्भर रहन्छ ।’ पौडेलले प्रदेशमा एमाले सरकारमा रहने नरहने कुरा स्वयम् प्रदेशका मुख्यमन्त्रीमा निर्भर रहने पनि बताए । कर्णालीलाई एमालेले किन हेर्दैन भन्ने प्रश्नमा पौडेलले आफू अर्थमन्त्री रहेको बेलामा बजेटको सन्दर्भमा कर्णालीलाई जहिले प्राथमिकता दिएको दाबी गरे । यो गठबन्धनबाट देशको भविष्य नरहेको उनको टिप्पणी छ ।

उनले निर्वाचनको नतिजा अनुसार प्रतिपक्षमा बस्ने तयारी गरे पनि राजनीतिक समीकरण बदलिने स्थित आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा गएको स्मरण गरे । उनले एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान सञ्चालन गरिएको बताए । पौडेल सुदूरपश्चिमको अछाम जाने क्रममा सुर्खेत आएका थिए ।

प्रकाशित मिति : २०७९ चैत १२ गते आइतबार