२०८३ वैशाख ८ , मंगलबार

हुम्लालाई राष्ट्रिय सडक र विद्युत प्रसारण लाइनमा जोडिन्छ : सांसद कार्चेन



हुम्ला । सांसद छिरिङ डम्डुल लामा (कार्चेन)ले हिमाली जिल्ला हुम्लालाई अबको दुई वर्षमा राष्ट्रिय सडक र राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्ने बताएका छन् । जिल्लाको गतिविधि बुझ्न र छैटौं जिल्ला सभाको प्रमुख अतिथिको भूमिका निर्वाह गर्न हुम्ला आइपुगेका सांसद लामाले सो कुरा बताएका हुन् । हुम्लाको विकासमा आफूले संघमा सधैं पहल गर्ने उनले बताए ।

 

छैटौं जिल्ला सभामा जिल्लाका सात वटा गाउँपालिकाको गतिविधि र प्रगति विवरण बुझ्न सांसद लामासँगै प्रदेश सामानुपातिक सांसद विजया बुढा र जुम्कित लामाको पनि सहभागिता रहेको थियोे । सांसद बुढाले पहिलाको सांसदले कमिसन खाएर बजेट दिएपनि आफूबाट यस्तो नहुने बताइन् । त्यस्तै सांसद जुम्कित लामाले पहिला माओवादी केन्द्रको पक्षमा लडाईं गरेपनि अब जिल्लाको नेता भएकोले जिल्लाको विकासमा लागिपर्ने बताइन् ।

 

जिल्ला समन्वय हुम्लाको आयोजनामा मंगलबार छैटौं जिल्ला सभा संचालन गरिएको हो । हुम्लाका सात वटा गाउँपालिकाले २०७९/०८० मा आफ्नो प्रगति विवरण सभामा प्रस्तुत गरेका थिए । जिल्लाका सात वटा गाउँपालिकामध्ये चार वटा गाउँपालिकाका अध्यक्ष उपस्थित थिएनन् । उपाध्यक्षको भरमा छैटौं जिल्ला सभा चलेको थियोे । त्यस्तै प्रमुख प्रशासकीय अधिकृतहरूको पनि सहभागितामा कामी रहेको थियोे ।

 

जिल्लाका सात वटै गाउँपालिकाबाट आएका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतले हुम्लाको विकासमा तीन तहको मुल धार समन्वय भएकाले पटक-पटक जिल्लाको अनुगमन गर्नु जरुरी देखिएको बताए । कमिसन योजनाले विकास भन्दा पनि विनाश बढी हुने गरेको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन सिंहले बताए । त्यस्तै प्रदेश र संघले व्यक्तिगत योजना दिदा स्थानीय सरकारसँग समन्वय गर्नुपर्ने खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलले बताए ।

 

बजेट अभाव भन्दा पनि विकास निर्माण सामग्री अभावमा काम नै गर्न नसकिने सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताए । त्यस्तै नातावाद , कृपावादले हुम्लामा विकास नभएको नेकपा एमाले जिल्ला उपाध्यक्ष डबल रावतले बताए । जिल्लामा हरेक गतिविधिको निगरानी राख्ने प्रमुख जिल्ला अधिकारी श्रीनाथ पैडेलले बताए । जिल्ला समन्वय प्रमुख शिवराज शर्माले जिल्लामा अनुगमनको थालनी र कुनै बजेटको हिनामिना गरेको थाहा भए कारबाही गर्ने बताए ।

 

जिल्ला समन्वय प्रमुख शिवराज शर्माको अध्यक्षतामा सञ्चालन भएकोे सभा प्रमुख अतिथि सांसद छिरिङ डम्डुल लामा (कार्चेन), विशेष अथिति प्रदेश समानुपातिक सांसद विजया बुढा र अतिथि प्रदेश समानुपातिक सांसद जुम्कित लामाको रहेको थियो । सभामा सात गाउँपालिकाका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि, राजनितीक दालका प्रतिनिधि, सुरक्षाकर्मी तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९ चैत २९ गते बुधबार