हुम्ला । हुम्लाको उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिक वडा नं ४ याल्माङमा रहेको महाबौद्ध माध्यामिक विद्यालयमा शिक्षक अभाव हुँदा समस्या भएको छ । विद्यालयमा करिब ६ वर्षदेखि मा.वि तहको सामाजिक विषयको शिक्षकको अभाव रहेको छ भने २ वर्षदेखि प्रा.वि तहको विज्ञान विषयको शिक्षकको अभाव रहेको छ ।
विद्यालयमा शिक्षक अभाव भएपछि विद्यार्थीहरलाई पढाउन नै समस्या भएको विद्यालयका शिक्षक पेमा डाडुल लामाले बताए । शिक्षक लामाका अनुसार दुई विषयका शिक्षक नहुँदा विद्यार्थीलाई अरु विषयका शिक्षकले नै पढाउँदै आएका छन् ।
यस्तै तीन महिनादेखि मा.वि तहकै नेपाली विषयका शिक्षक पनि नभएको विद्यालयका नि. प्रधानाध्यापक ठानबहादुर बुढाले बताए । विद्यालयमा नाम्खा गाउँपालिकाका ६ वटै वडाका विद्यार्थी पढाईका लागि आउने भएपनि शिक्षक अभाव हुँदा विद्यालय छाड्नेको संख्या बढ्दै गएको छ ।
विद्यालयमा करिब तीन सय हाराहारीमा विद्यार्थी छन् । विद्यालयमा विषयगत शिक्षक नहुँदा अरु विषयका शिक्षकले पढाउँदा नबुझिने कक्षा ९ मा अध्ययनरत कुसुम लामाले बताइन् ।
नाम्खा गाउँपलिकामा एक मात्र माध्यमिक विद्यालय रहेको र शिक्षक अभावको विषय गाउँपलिकालाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको विद्यालयका शिक्षकहरु बताउँछन् । उक्त विद्यालयमा प्रविधिकतर्फ कृषि विषयमा पनि पढाइ हुँदै आएको छ ।