
जुम्ला । जुम्लाको तिला गाउँपालिकामा १५ देखि २२ महिनाका बालबालिका खोपबाट छुटे-नछुटेको बारे अनुगमन गरिएको छ । पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्नु अघि खोपबाट छुटेका बालबालिकालाई खोपको पहुँजमा ल्याउन अनुगमन गरिएको हो ।
तिलाका तीन वटा वडाका बस्ती र प्रत्येक घरमा गएर अनुगमन गरिएको जनस्वास्थय सेवा कार्यालयको जुम्लाले जनाएको छ । जनस्वास्थय सेवा कार्यालयको टोली स्वास्थ्य स्वयंसेवीका, स्वास्थ्यकर्मी र सञ्चारकर्मीले तीन वटा वडाका घरघरमा पुगेर अनुगम गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।
तिलालाई पूर्ण खोप पालिका घोषणा गर्नु अघि नै त्यहाँका वडाहरुमा खोपको पहुँचबाट छुटेको भए खोजेर खोप दिने उद्देश्यले वडाहरुमा अनुगमन गरिएको उनले बताए । उनका अनुसार पूर्ण खोप जिल्ला घोषणा भएपनि शून्यदेखि २३ महिनाभित्रका बालबालिकाले पूर्ण खोप पाए नपाएको सुनिश्चित गर्नका लागि हरेक वर्ष खोप सुनिश्चिता गर्नुपर्ने व्यवस्था छ ।
खोपबाट धेरै किसिमका रोगबाट बच्ने भएकाले हरेक बालबालिकालाई नछुटाई खोप लगाउनु पर्ने हुन्छ । खोप नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको छ । अहिले बालबालिका खोज र खोपु भन्ने नीति रहेको छ । कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट बञ्चित हुनु हुँदैन भन्ने मान्यताका साथ घरघरमा गएर अनुगम गरिएको प्रमुख सापकोटाले बताए ।
जुम्लाका आठ वटा स्थानीय तहलाई पूर्ण खोप पालिका घोषणा गरी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी रहेको उनले बताए । अनुगमनबाट सबै बालबालिकाले पूर्ण खोप लगाएको र १५ महिनाभन्दा मुनिका बालबालिकाले नियमित खोप लागाउँदै आएको खोप कार्डले देखाएको उनले बताए ।
तिला ३ की देबकी नेपालीले आफूले २ वर्षीया छोरीलाई लगाउनुपर्ने सबै खोप लगाएर खोप कार्ड पनि बनाएको बताइन् । उनले आफ्ना बालबालिकालाई खोप नछुटाइ लगाउन सबै अभिभावकलाई आग्रह पनि गरिन् ।
त्यस्तै तिला गाउँपालिका वडा नम्बर १ कि सम्झना रोकायाले आफूले छोरालाई नछुटाइ खोप लगाएको बताइन् । खोप छुटाएमा बालबालिकामा विभिन्न प्रकारका रोग लाग्ने जानकारी भएकाले आफूले छोरालाई खोप लगाउँदै आएको र अरुलाई पनि खोप लागाउन अनुरोध गर्दै आएको बताइन् ।
जनस्वास्थ्य कार्यालय जुम्लाका खोप प्रमुख प्रेम सोमाईले तिलाका सबै वडामा आइतबारसम्म अनुगम गर्ने जानकारी दिए । सबै वडा अनुगमन गरिसकेपछि मात्र पालिकालाई पूर्ण खोप घोषणा गर्ने बताए ।