मुग । मुगुको छायाँनाथ रारा नगरपालिकाले दलित समुदायलाई दशैं भत्ता उपलब्ध गराउने भएको छ । नगरपालिकाले पालिकाका दलित समुदायको जग्गा कम भई उत्पादनमा कमी भएको र आम्दानीको अवस्था पनि कमजोर हुने भएकाले दलित समुदायलाई खाद्यान्न सामग्री खरिद गर्नमा सहजता होस भन्ने उद्देश्यले दलितलाई दशैं भत्ता उपलब्ध गराउने भएको हो ।
दलित समुदायलाई दशैं भत्ता दिने गरी कार्यविधि बनाएको नगरप्रमुख विष्णु कुमार भामले बताए । उनलेकार्यविधिमा हरेक दलित समुदायका प्रति घरधुरीलाई हरेक वर्ष दुई हजार पाँच सय रुपियाँ दशैं भत्ता उपलब्ध गराइने बताए ।
नगरप्रमुख भामले गएको दशैंमा पालिकासँग दलित घरधुरीको तथ्याङ्क नभएकोले उक्त समयमा दशैं भत्ता उपलब्ध गराउन नसकिएको र अहिले पालिकाले दलित घरधुरीको लगत सङ्कलन गरेर भत्ता दिने तयारी गरीरहेको जानकारी दिए । उनले लाभग्राहीहरूको एनआइसी एसिया बैङ्क शाखा मुगुमा खाता पनि खोलिसकेको बताए ।