२०८३ वैशाख ८ , मंगलबार

गुर्भाकोटमा दुध उत्पादनबाट आय वृद्धि गर्न कृषकसँग अन्तरक्रिया



हुम बहादुर कार्की, सुर्खेत । दुग्ध उत्पादनबाट आय वृद्धिमा टेवा पु¥याउने उद्देश्यले बिहीबार गुर्भाकोट नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वीरेन्द्रनगर सुर्खेत वातावरण सुधार बहुउद्देश्य सहकारी संस्था लिमिटेडको आयोजनामा र गुर्भाकोट नगरपालिका वडा न.२ को हरियाली कृषि बजार सहकारी संस्था लिमिटेडको समन्वयमा नगर पशु शाखा,  जनप्रतिनिधि, कृषक र सहकारी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् गुर्भाकोट नगरपालिका २ का वडा अध्यक्ष  नोख बहादुर वलीले सहकारी संस्थालाई समस्या भएको बेला जुनसुकै समयमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै व्यावसायिक रूपमा काम गर्ने किसानहरूका लागि संघ प्रदेश र स्थानीय सरकार बाट थुप्रै अनुदानका कार्यक्रम हुने गरेको बताए । उन्नत जातका गाई भैँसीको फर्म सञ्चालन गरी दूधबाट नगदे बाली जस्तो आर्थिक लाभ लिन सक्ने बताउँदै यस संस्थाले कृषकमुखी थुप्रै काम गर्दै आएको समेत बताए  ।

यस्तै, वातावरण सुधार बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष मोती प्रसाद चपाईले कृषकहरू बिचमा सहकारीले गर्दै आएको काम र आगामी आर्थिक वर्षमा सहकारीले गर्ने कार्यको योजना बारे सहकारीले गुर्भाकोट नगरपालिका वडा नम्बर १÷२  भित्रका सबै किसानहरू लाई सेयर सदस्यमा आबद्ध गरी पशुपालन तथा तरकारी खेतीको शीर्षकमा ऋण लगानी गरी सदस्यहरूलाई स्वरोजगार बनाउँदै दुग्ध उत्पादनमा जोड दिने बताए ।

गुर्भाकोट नगर कृषि शाखाका प्रमुख ओम प्रकाश वलीले नगर भित्र रहेका किसानहरूको सही पहिचान गरी आगामी दिनहरूमा अनुदानका कार्यक्रम वितरण गर्ने बताए । उनले विभिन्न सिपमूलक तालिम सञ्चालन गर्ने, पशु बाली औषधि उपचार, निजी, सहकारी र सरकारी तवरबाट उन्नत जातका पशुहरूको कार्यक्रम सञ्चालन गर्ने, भकारो सुधार, कृषि औजार व्यवस्थापन,  पशु बिमाको व्यवस्थापन गर्ने, दाना तथा भेटेरिनरी पसल सञ्चालन गर्ने लयागतका कार्यक्रमहरू स्थानीय निकायको सहयोगमा सञ्चालन गर्न तर्फ अघि बढ्ने बताए ।

त्यस्तै वातावरण सहकारी संस्थाका वरिष्ठ प्रबन्धक किरण बस्नेतले वातावरण सहकारी संस्था बारे संक्षिप्त जानकारी दिँदै दुग्ध उत्पादन सङ्गै दूधको गुणस्तरमा विशेष ध्यान दिनु पर्ने बताए । उनले दूध एकदमै नाजुक पदार्थ भएको हुँदा सरसफाइमा पनि ध्यान दिन अति आवश्यक रहेको बताउँदै दूध उत्पादन वृद्धिका लागि व्यावसायिक रूपमा पशुपालन गर्न किसानहरूलाई आग्रह गरे ।

वडाका कर्मचारी, जनप्रतिनिधि, सहकारीका पदाधिकारी, स्थानीय सहकारी समूहका व्यक्तित्वहरू, कृषकहरू लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव नन्दलाल भुसालले गरेका थिए ।

प्रकाशित मिति : २०८० जेठ १९ गते शुक्रबार