
हुम्ला । हुम्लाका स्थानीयले कर्णाली करिडोर निर्माणको पूरै जिम्मा नेपाली सेनालाई दिन माग गरेका छन् । हाल कर्णाली करिडोर अन्तर्गत पर्ने विभिन्न ठाउँमा नेपाली सेनाले सडक निर्माण गरेको छ । सेनाले निर्माण गरेको सडक स्तरीय भएको र अन्य ठेक्कबाट बनाइएका सडक स्तरीय नभएको भन्दै स्थानीयले करिडो निर्माणको जिम्मा पूर्णरुपमा सेनालाई दिन माग गरेका हुन् ।
सेनाले बनाएको सडक र ठेक्काबाट बनेको सडक ७५ प्रतिशत फरक देखिएको स्थानीयहरु बताउँछन् । सेनाले बनाएको हुम्लाको सलिसल्लादेखि सिमकोट सदरमुकामसम्मको सडक स्तरीय रहेको स्थानीयहरुले बताएका छन् । यता सलिसल्लादेखि खार्पुसम्म विभिन्न ठेक्काबाट बनेको सडकमा गाडी सञ्चालनमा नआएपनि पैदल यात्रु र सामान ढुवानी गर्ने खच्चडलाई समेत हिँड्न मुस्किल रहेको सामान ढुवानीकर्ता हर्कधन बुढा बताउँछन् ।
तर सलिसल्लादेखि सिमकोटसम्म सेनाले बनाएको सडकमा आरामले यात्रा गर्न सकिने बुढाले बताए । उक्त सडक ८ देखि १० मिटरसम्म फराकिलो भएको उनले बताए । ठेक्काबाट बनेको सडक स्तरीय नभएको र बीच बीचमा पहिरो गएर सडक बेहाल भएको उनको भनाइ छ । सोही कारण कर्णाली करिडोर निर्माणको जिम्मा पूर्णरुपमा सेनालाई दिन उपयुक्त हुने उनले बताए ।
ठेक्काबाट बनेका सडक स्तरीय नहुनुमा निर्माणमा भन्दा पनि पैसा बचाउनतर्फ ठेकेदार केन्द्रित देखिएको स्थानीय गोर्ख रोकायको भनाइ छ । रोकायाले यस किसिमका ठेक्काबाट हुम्लाको सदरमुकामसम्म सडक पुग्न अझै तीनदेखि चार वर्षसम्म लाग्ने देखिएको बताए । स्थानीय ज्ञानबहादुर रोकायाले हुम्लामा कर्णाली करिडोर जोड्नका लागि नेपाली सेनालाई जिम्म दिए निर्माण कार्य छिटो र स्तरीयरुपमा सम्पन्न हुने बताए ।
ठेक्काबाट म्याद थप मात्र हुने र दुई वर्षको सम्झौता गरिएको सडक ५ वर्ष बित्दा पनि पूरा नहुने समस्या देखिएको उनले बताए । यसमा संघ, प्रदेश तथा स्थानीय सरकारले समयमै ध्यान दिए सदरमुकामसम्म सडक पुग्न करिब एक वर्षमात्र लाग्ने अनुमान गरिएको छ ।