२०८३ वैशाख ८ , मंगलबार

कर्णालीमा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी बन्दै



कुलेन्द्र शाही, सुर्खेत । जाजरकोटको शिवालय गाउँपालिका ३ मा गत जेठ ९ गते प्रहरीले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम गर्याे । कार्यक्रम इलाका प्रहरी कार्यालय सिमाको आयोजनामा भएको थियो । त्यँहा कार्यक्रम गर्नुभन्दा केही दिन अघि शिवालय गाउँपालिकाको वडा नम्बर ५ मा पनि लागुऔषध नियन्त्रण सम्बन्धी कार्यक्रम गरिएको थियाे ।

त्यँहा कार्यक्रम भएपछि नागरिकहरुमा लागुऔषधमा फस्न्हुन्न भन्ने मनासाय जागेको पाइएको छ । स्थानीय बिमला खत्रीले पहिले आफुलाई लागुऔषध सम्बन्धी कुनै पनि जानकारी नभएको तर, उक्त कार्यक्रम भएपछि आफुले धेरै कुरा सिक्ने अवसर पाएको बताइन् । उनले यसबारेमा थाहा पाइसकेपछि आफ्ना घरपरिवारलाई लागुऔषध जतिसक्दो टाढा राख्ने प्रतिबद्धता जनाईन् ।

उनले यति भने पछि यो बुझिएको छ कि, यो कार्यक्रम निकै नै प्रभावकारी भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले कर्णालीका १० वटै जिल्लामा सञ्चालन गर्दै आएको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी बन्दै गएको यसबाट प्रष्ट नै बुझ्न सकिन्छ ।

उक्त अभियान अन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने आपराधिक घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक अग्रसर हुन थालेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् डिआइजी भिम प्रसाद ढकाल बताउँछन् ।

ढकाल भन्छन्, ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम निकै फलदायी भएको छ, समाजमा हुने आपराधिक क्रियाकलापमा पनि निकै कमी आएको छ । प्रहरीले कर्णालीका विभिन्न जिल्लाका विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दा त्यसबाट पाएको शिक्षाले नागरिक जागरुक भएको विद्यालयका प्रधानाध्यापकहरु बताउँछन् ।

उक्त अभियानअन्तर्गत कर्णालीका १० वटै जिल्लामा अपराध रोकथाम, शान्ति सुरक्षा तथा सचेतना जगाउन स्थानीय तह, सामुदायिक संस्था तथा विद्यालयसँगको साझेदारीमा विद्यालय तथा समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको डिआइजी ढकालले बताए ।

विशेषगरी प्रहरीले समाजमा लागु औषध, मानव बेचबिखन, जवर्जस्ती करणी घरेलु हिंसा, महिला हिंसा, बाल विवाह, बहु विवाह,आत्माहत्या, आगलागि नियन्त्रण र सवारी दुर्घटना लगाएतका विषयमा सचेतनामूलक कार्यक्रम प्रभावकारी बन्दै गएको छ । समुदायलाई लक्षित गरी बालविवाह, दाइजो, सामाजिक अपराधसम्बन्धी घटना रोक्न प्रहरीले गाउँगाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

यस चालु आर्थिक वर्ष ०७९/०८० को साउन देखी जेठ १५ गते सम्म कर्णाली प्रदेशका १० वटै जिल्लाहरुमा गरि सामुदाय प्रहरी साझेदारी अन्तर्गतका ३० वटा शिर्षकहरुमा २ हजार ८६६ वटा कार्यक्रम गरिएको छ । यस कार्यक्रमबाट कर्णालीका १ लाख २० हजार ५ सय ८९ जना मानिसहरू लाभावान्वित भएका छन् ।

त्यसैगरी प्रदेशभरीमा ट्राफिक सम्बन्धी ३ हजार २५ वटा सचेतनामुलक कार्यक्रम संचालन गरी १ लाख ७३ हजार ८ सय ४६ जना लाभान्वित भएका छन् । कर्णाली प्रदेश अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतले हालसम्म ५ सय ३२ ‘समुदाय प्रहरी साझेदारी’ र १ हजार ३ सय ३५ ट्राफिक सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय दैलेखले ४ सय ४८ ‘समुदाय प्रहरी साझेदारी’ र २ सय ६३ ट्राफिक सचेतनामूलक, कालिकोटले २ सय ७३ ‘समुदाय प्रहरी साझेदारी’ र १ सय ४८ ट्राफिक सचेतनामूलक, मुगुले १ सय ८ ‘समुदाय प्रहरी साझेदारी’ र ८७ ट्राफिक सचेतनामूलक, जुम्लाले २ सय ४३ ‘समुदाय प्रहरी साझेदारी’ र २ सय ४ ट्राफिक सचेतनामूलक कार्यक्रम गरेको छ ।

यसैगरी डोल्पाले १ सय ८६ ‘समुदाय प्रहरी साझेदारी’ र ७९ ट्राफिक सचेतनामूलक, हुम्लाले १ सय ४६ ‘समुदाय प्रहरी साझेदारी’ र ४१ ट्राफिक सचेतनामूलक, जाजरकोटले २ सय २७ ‘समुदाय प्रहरी साझेदारी’ र १ सय ६८ ट्राफिक सचेतनामूलक, सल्यानले २ सय ३९ ‘समुदाय प्रहरी साझेदारी’ र २ सय ९७ ट्राफिक सचेतनामूलक र रुकुमपश्चिमले ४ सय ६४ समुदाय प्रहरी साझेदारी’ २ सय ८७ ट्राफिक सचेतनामूलक कार्यक्रम गरिसकेको छ ।

प्रकाशित मिति : २०८० जेठ २० गते शनिबार