
कुलेन्द्र शाही, सुर्खेत । कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेका नीति तथा कार्यक्रमहरू लहडका भरमा प्रस्तुत गरेको जस्तो देखिएको छ । आइतबार प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्दा ठोस नीतिहरु अंगाल्ने छनक मिलेन ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका धुलाम्मे सडकहरुले दिउँसै अँध्यारो हुनेगरि ढाक्ने गरेपनि प्रदेशदेखि स्थानीय सरकारहरुको ध्यान आकाशे पुल निर्माण गर्ने जस्ता महत्वाकांक्षी विषयहरू समेट्ने तिर देखिएको छ । नगरको कार्यक्रम आउन बाँकी छ । तर प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमहरू भने एक लहडबाजले प्रस्तुत गरेको जस्तो देखिएको छ ।
जनताको घरदैलोको सरकार भनिने प्रदेश तथा स्थानीय सरकारले धुलाम्मे सडकको स्तरोउन्नती समेत गर्न सक्दैन भने आकाशे पुलको निर्माण त झन् कसरी होला भनेर कर्णालीबासीले लख काट्न सुरु गरेका छन् । गत बर्षको असार ११ गते वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा वीरेन्द्रनगरमा बढी सवारी चाप भएका स्थानहरू मंगलगढी र यरिचोकमा सम्भाव्यता अध्ययन गरी आकाशे पुलको निर्माण गर्ने घोषणा गरेको थियो।
नीति तथा कार्यक्रममा उक्त विषय समेटिएको भएपनि यसतर्फ न त नगरपालिकाले चासो दियो न त प्रदेश सरकारले नै । प्रदेशको राजधानी वीरेन्द्रनगरमा सडकको अवस्था नाजुक रहेको छ भने यहाँ आकाशे पुल निर्माणको कल्पनै पनि नगरेको नागरिकहरुको भनाई छ । कर्णाली प्रदेशको राजधानीका मुख्य चोकहरूमा धुलाम्मे सडकले गर्दा दिउँसै अँध्यारो हुने गर्दछ ।
सडक स्तरोउन्नती गर्नुपर्ने ठाउँमा प्रदेश सरकारदेखि आकाशे पुल निर्माण गर्ने जस्ता विषय समेट्दा प्रदेश तथा स्थानीय सरकारले काठमाडौँसँग अनुकरण गर्ने खोजिएको जस्तो देखिएको छ । नागरिक समाजका अगुवा पिताम्बर ढकालले वीरेन्द्रनगरमा आकाशे पुलको आवश्यकता नभएको बताउँदै प्रदेश सरकारले काठमाडौँको अनुकरण गर्न खोजेको टिप्पणी गरे । उनले प्रदेश सरकारले फेसनका आधारमा यहाँ आकाशे पुल निर्माण गर्न खोजेको आरोप लगाए ।
‘सुर्खेतमा जेब्रा क्रसिङ्गमा हिँड्ने जतिकै पनि मान्छे छैनन् भने यहाँ आकाशे पुलको के आवश्यकता छ र ?’ उनले .खबरदृष्टिको प्रश्नमा भने । ‘सुर्खेतले काठमाडौँसँग अनुकरण गरेर हुन्छ र कि त यहाँ ट्राफिकले मानिसहरू कन्ट्रोल गर्न नसकेको भए आकाशे पुलको निर्माण गर्ने हुन्थ्यो । सडकको अवस्था त भन्नै नसकिने छ भने, त्यस्तो ठाउँमा आकाशे पुलको के काम, बरु भित्री सडकहरू सबै स्तोरउन्नती गरिसके पछि आकाशे पुल निर्माण गर्दा हुन्छ नि, ’ उनले भने ।
आकाशे पुल निर्माण हुनेमा आफूले कुनै पनि विश्वास नगरेको उनको भनाई छ । तर सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्षमा लक्ष्मण कँडेलले कर्णाली प्रदेशको राजधानीमा दैनिकी सवारी साधनको अत्यधिक चाप बढ्दै गएकाले यहाँ आकाशे पुल निर्माणको आवश्यक भएको बताए । उनले दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदल यात्रुको सहजताका लागि प्रदेश सरकारले सान्दर्भिक विषय उठाएको चर्चा गर्दै यसलाई जति सक्दो चाँडो र दीर्घकालीन बनाउन जरुरी रहेको बताए ।
‘यहाँ दिनानुदिन सवारी तथा मानिसको आगमन बढ्दै गएको छ’ ‘त्यसैले यहाँ आकाशे पुल मात्रै होइन ट्राफिक बत्तीको समेत व्यवस्था हुन जरुरी छ,“ उनले भने । अध्यक्ष कँडेलले प्रदेश सरकारले आकाशे पुल निर्माणका लागि बजेट विनियोजन गरी आकाशे पुल निर्माणमा विशेष जोड दिन आग्रह समेत गरे ।
‘वीरेन्द्रनगर नगरपालिकाले यस चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा समेटेको भए पनि निर्माण तर्फ भने चासो दिएको देखिएन,’ उनले भने, ‘प्रदेश सरकारले पनि नगरपालिकाले गरे जस्तो नगरोस्, छिट्टै सम्भाव्यता अध्ययन गरी काम अगाडि बढाओस् ।’ चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रनगरमा बढी सवारी चाप भएका स्थानहरू मंगलगढी र यरिचोकमा सम्भाव्यता अध्ययन गरी आकाशे पुलको निर्माण गरिने भनी उक्त विषय समेटेको थियो ।
तर, अहिलेसम्म पनि उक्त सम्भाव्यता अध्ययनको काम पुरा भएको छैन । वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेको जानकारी दिइन् । उनले स्थानीय सरकारबाट मात्रै आकाशे पुल निर्माणको लागि सम्भव नभएकोले काममा केही ढिलाइ भएको स्वीकार गरिन। उनले संंघ र प्रदेशसँगको समन्वयमा काम अघि बढाउने जानकारी दिइन् ।
उनले संंघ र प्रदेशमा उक्त पुल निर्माणको लागि पत्र समेत पठाइसकेको जानकारी दिइन् । नगरप्रमुख ढकालले गत हिउँदे अधिवेशनबाट आकाशे पुलको सम्भाव्यताको लागि करिब ५ लाख बजेट समेत छुटाइएको र परियोजना पुरा नभएकाले उक्त बजेटको एक प्रतिशत पनि खर्च नभएको जानकारी दिइन् ।