सुर्खेत । अत्यधिक गर्मीका कारण सुर्खेतका निजी विद्यालय बुधवारदेखि एक साताका लागि बन्द भएका हुने भएका छन् । दिन प्रतिदिन गर्मी बढ्दैपछि सुर्खेतका निजी विद्यालयहरूले पठनपाठनमा एक साताका लागि बिदा दिने भएका हुन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल ‘प्याब्सन’को सुर्खेत कार्यसमितिले यहाँका निजी विद्यालयहरूलाई पत्राचार गर्दै एक साताका लागि गर्मी बिदा दिन भनेको छ । सोहीअनुसार नै विद्यालयहरूले २४ जेठदेखि ३० जेठसम्मका लागि पठनपाठन क्रियाकलाप रोकेका छन् । सोमबार बसेको प्याब्सनको जिल्ला कार्यसमिति बैठकले सुर्खेतस्थित सम्पूर्ण निजी विद्यालयहरूमा गर्मी बिदा दिने निर्णय गरेको थियो ।
अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्य अवस्थामा समस्या सिर्जना हुन सक्ने जोखिम बढेको बताउँदै प्याब्सनले वातावरणमा सुधार आएपछि जेठ ३१ गतेबाट पठनपाठन सुरु गर्ने योजना बनाएको छ । पछिल्लो समयमा आएर अत्यधिक गर्मी बढेपछि यहाँका जनजीवन प्रत्यक्ष रुपमा प्रभावित भएको छ ।