कालिकोट । कालिकोटमा भएको जिप दुर्घटनामा घाइते भएकी महिलालाई थप उपचारका लागि हेलिकप्टर मार्फत प्रदेश अस्पताल ल्याएको छ । रास्कोट नगरपालिका–२, सेरा बजारमा रोकिराखेको ग ३ च ४६१० नम्बरको डबल क्याब जिप आज बिहान पौने ८ बजेको समयमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी वर्ष ३० कि रीताकुमारी शाहीलाई प्रदेश अस्पताल कालगाउँ सुर्खेत ल्याइएको हो । यसअघि उनलाई स्थानीय गौत अस्पतालमा लगिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुबराज बमका अनुसार शाहीलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल ल्याइएको हो ।
दुर्घटनामा परी जिपमा रहेका रास्कोट नगरपालिका–१ का ४३ वर्षीय मानबहादुर शाही र उनको श्रीमति ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको । सोही ठाउँकी रीताकुमारी शाही भने गम्भीर घाइते भएकी हुन् । प्रहरी निरीक्षक बमका अनुसार सेरा बजारबाट कालिकोटको सदरमुकाम मान्मतर्फ जाने तयारीमा रहेको जिप न्युट्रलमा राखेर चालक बाहिर निस्केका बेला दुर्घटना भएको हो ।
दुर्घटनापछि जिपका चालक विनोद दर्लामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिप सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो ।