२०८३ वैशाख ७ , सोमबार

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित 



सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभामा पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो । तीन दिनसम्म प्रदेशसभामा छलफल गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम बिहिवार ध्वनि मतका आधारमा बहुमतले पारित भएको हो ।

सभामुख नन्दा गुरुङले २१ जेठमा प्रदेश प्रमुख तिलक परियारले पेस गरेको नीति तथा कार्यक्रम कर्णाली प्रदेशसभा नियमावलीको नियम ३७ (४) बमोजिम बहुमतले पारित भएको घोषणा गरिन् । सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आइतवार प्रदेश प्रमुख तिलक परिवारले प्रदेशसभामा प्रस्तुत गरेका थिए ।

तीन दिनसम्म चलेको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाई, एमालेका सांसद जितबहादुर मल्ल र विनोदकुमार शाहले संशोधन प्रस्ताव दर्ता गराएका थिए । उनीहरूले दर्ता गराएको संशोधन प्रस्ताव बिहीबारको बैठकबाट बहुमतले अस्वीकृत भएको थियो ।

प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शर्माले नीति तथा कार्यक्रम कुनै राजनीतिक दस्ताबेज नभएर कर्णालीका जनताको सपना भएको बताए । उनले कर्णालीमा आन्तरिक उडान भर्ने गरी जहाजको व्यवस्थापन गरिने समेत बताएका छन् ।

उनले संघीय सरकारले जहाज उपलब्ध नगराए कर्णाली सरकारले आन्तरिक रूपमा नै जहाज खरिद गरेर कर्णाली भित्र उडान भर्ने दाबी गरेका छन् । मुख्यमन्त्री शर्माले आफूहरूको माग सम्बोधन भएन भने साझेदारीमा सहकार्य गरेर एउटा प्लेन किनेरै भएपनि आन्तरिक उडान भर्ने तयारीमा कर्णाली सरकार प्रतिबद्ध रहेर बताए ।

प्रकाशित मिति : २०८० जेठ २५ गते बिहीबार