२०८३ वैशाख ८ , मंगलबार

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघद्धारा वीरेन्द्रनगरमा रक्तदान कार्यक्रम



सुर्खेत । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल प्रदेश समिति कर्णाली, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला समिति सुर्खेतको आयोजनामा शुक्रवार वीरेन्द्रनगर स्थित तथा नगर अस्पतालमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

नेकपा एमाले कर्णाली प्रदेश सदस्य पद्मा खड्काको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेका थिए । रक्तदान गरेकालाई प्रमाणपत्र वितरण गर्दै प्रदेश सदस्य खड्काले महासङ्घले प्रत्येक वर्ष स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै रक्तदान कार्यक्रम मानवताको प्रतीक भएकोले सबैले रक्तदान गर्नुपर्नेमा जोड दिइन् ।

उनले प्राकृतिक रुपमै रगत आफै बन्ने र खेर जाने भएकाले रक्तदान गरेर मानिसहरूलाई अकालमै मृत्युबाट जोगाउन सकिने बताइन् । सदस्य खड्काले रगत नपाएर अस्पतालमा छट्पटाईरहेका बिरामीहरूले अहिले गरिएको रक्तदानले केही राहत पुग्ने विश्वास लिएको बताइन् ।

उनले रक्तदान गर्दा आफूहरू कमजोर हुने धेरैको मनमा यो सोचाई भएको हुँदा उक्त सोचाइलाई मनैबाट हटाई सबैलाई रक्तदान गर्न आग्रह गरिन् । रक्तदान कार्यक्रममा कर्णाली प्रदेश अध्यक्ष अमर राना, जिल्ला अध्यक्ष हस्तराज गिरीले समेत महत्त्वपूर्ण भनाई राखेका थिए ।

 तस्बिरहरु

प्रकाशित मिति : २०८० जेठ २६ गते शुक्रबार