
कुलेन्द्र शाही,सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा विगत केही दिनयता विद्युत् अनियमित हुँदा स्थानीयवासी र उद्योगी व्यवसायीहरूले निकै ठुलो कष्ट व्यहोरिरहेका छन्। छिनछिनमा विद्युत् लाइन काटिने र बत्ती आउदापनि लो भोल्टेज हुने समस्याले सेवाग्राहीलाई निकै समस्यामा पारेको हो । वीरेन्द्रनगरमा विद्युत् व्यापक समस्या देखा परिरहेको छ ।
जिल्लामा एक दिनमै सयौंपटक बिजुली अवरुद्ध हुने गरेको छ । २–३ मिनेटको फरकमा धेरै पटक लाइन झ्याप्प काटिने र आउदापनि लो भोल्टेज हुँदा धेरैका इलेकट्रोनिक्स सामाग्रीमा क्षति पुगेको स्थानीयहरू गुनासो गर्छन्। मिनेट मिनेटमा जाने र घण्टौँसम्म बिजुली नआउने हुँदा वीरेन्द्रनगरमा गर्मीले बस्नै नसक्ने अवस्था छ ।
दिउँसो समयमा भन्दा रातिको समयमा निकै बत्ती जाने गर्दछ । हावाहुरी चल्न सुरु नगर्दै बत्ती जाने समस्याले निकै समस्या हुने गरेको हुम्ला घर भई वीरेन्द्रनगरमा बस्दै आएकी ३२ वर्षीय रामकुमारी विकले बताइन् ।अनियमित र लो भोल्टेजले लोकसेवा आयोगको तैयारी गरिरहेका विद्यार्थीहरूलाई सास्ती भएको छ।
लोकसेवाको परीक्षा दिन वीरेन्द्रनगर आएका रुकुम पश्चिमका चेतन मगरले आफू एक दिन सुर्खेत आउँदा पनि सयौंपटक बत्ती जाने गरेकाले पढाइमा निकै समस्या भएको बताए । देशभर दैनिकरुपमा गर्मी बढ्दै गएको छ। तर अनियमित विद्युतलाई नियमित बनाउने योजना सरोकारवाला निकायहरूसँग छैन। लो भोल्टेजले विद्युत्बाट चल्ने उद्योग, छापाखाना, सञ्चारमाध्यम, बैंक तथा वित्तिय संस्थामा समेत समस्या देखिएको छ ।
पटक–पटक बिजुली जाँदा नागरिकलाई असुविधा भएको छ । बत्ती जाने समस्याले गर्दा आम नागरिकहरुले सामाजिक सञ्जालमा समेत विभिन्न नकारात्मक टिप्पणी गरेका हुन्छन् । वीरेन्द्रनगरमा बसोबास गर्दै आएका अधिकांशको प्रश्न हुने गर्दछ, बत्ती कति बेला आउँछ ? अहिले सुर्खेतमा कोहलपुरदेखि ३३ केभी प्रसारण लाइन आएको छ ।
यो लाइन २०४५ सालदेखि सुर्खेतमा विस्तार भएको हो । लाइन पुरानो भएको हुँदा विद्युत् अनियमित हुने गरेको प्राविधिकहरू बताउँछन् । यहाँको पुरानो तथा जीर्ण संरचना हावाहुरी चल्न बित्तिकै बत्ती जाने गर्दछ । कोहलपुरबाट आएको यो लाइनबाटै अहिले कर्णालीका धेरैजसो जिल्लामा विद्युत् विस्तार भएको छ ।
एउटा क्षेत्रमा मात्रै समस्या आयो भने सबै जिल्लामा विद्युत् अवरुद्ध हुने गर्दछ । ३३ केभी लाइनमा भर परेको सुर्खेत वितरण केन्द्रमा मात्रै अहिले ६३ हजार भन्दा बढी उपभोक्ता छन् । वितरण केन्द्रले सामाजिक सञ्जालमार्फत बत्ती गएको जानकारी दिने बाहेक अरू कुनै पनि समस्याको समाधान गर्न नसकेको छापाखाना व्यवसायी पञ्चरत्न शर्मा बताउँछन् ।
गर्मी याममा विद्युत् खपत ह्वात्तै बढ्ने भएकाले विद्युत् आपूर्तिमा लोड बढ्ने हुँदा आपूर्तिमा समस्या भएको नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख युवराज रावतले बताए । उनले कहिलेकाहीँ हावाहुरीले पोल ढाल्ने, रुख भाँचिएर तारमा पर्ने जस्ता समस्याले पनि सुर्खेत लगायतका ठाउँमा विद्युत् अनियमित हुने गरेको बताए। रावतले गर्मी बढेसँगै विद्युत् खपत बढेकोले लो भोल्टेजको पनि समस्या थपिएको जानकारी दिए।