
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बेदराज सिँह
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट शुक्रवार प्रदेश सभामा प्रस्तुत गरेका हुन् । सिंहले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् । जसमा चालूतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ ।
बजेटमा स्थानीय तहको वित्तीय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार रहेको छ । मन्त्री सिंहले कर्णालीको मुख्य समस्याका रूपमा रहेको गरिबी न्यूनीकरणका लागि कर्णाली समृद्धिको अभियानलाई परियोजनाको रूपमा अगाडि बढाउने बताए । उक्त परियोजनाका लागि एक अर्ब ५० करोड बजेटको विनियोजन भएको छ । महिला आर्य आर्जन विकासका लागि ७ करोड रुपैयाँ विनियोजन गरिएको छ भने महिलाको स्वामित्वमा रहेका उद्योगलाई प्रोत्साहन कार्यक्रम गरिने छ ।
भौगोलिक पहिचानसँग जोडिने उद्योग सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरिएको छ । प्रदेशको औद्योगिक ऐन तर्जुमा गरिने भएको छ । एक जिल्ला एक उत्पादन, सिपसँग सहयोग कार्यक्रमबाट उत्प्रेरित गरिने बताइएको छ । रैथाने उत्पादनको बजारीकरणका लागि कोसेली तथा सौगात घर स्थापना र अनलाइन सौगात डट कम सञ्चालन गरिने भनिएको छ ।
यस्तै,भौतिक पूर्वाधार, यातायात र सहरी विकासका क्षेत्रमा १० अर्ब ११ करोड ४२ लाख बजेट विनियोजन गरेको छ । बहु वर्षीय र क्रमागत आयोजना सम्पन्न गर्ने, न्यूनतम १० हजार रोजगारी सिर्जना गर्न ‘शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार त्यसका लागि सुशासन र पूर्वाधार’ भन्ने नारासहित योजना ल्याइएको छ । कर्णालीमा सांसद विकास कोष कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
यस्तै एकीकृत बस्ती विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ । कर्णाली प्रदेश रङ्गशाला निर्माण सम्पन्न गर्न ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कर्णाली समिति परियोजनाको लागि १ अर्ब ५० करोड विनियोजन गरिएको छ । भेरीगंगामा प्रादेशिक विमानस्थल निर्माण अगाडी बढाउन केन्द्र सरकारसँग समन्वय गर्ने बताएको छ ।
महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक १० हजार रकम प्रोत्साहन भत्तास्वरुप उपलब्ध गराउने अर्थमन्त्री सिंहले बताए । कर्णाली सरकारले प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्ने भएको छ । प्रदेश अस्पताल सुर्खेतको तला थप गर्न ५५ करोड ५६ लाख विनियोजन गरिएको छ । बजेटमा शिक्षण अस्पताल बनाउन आवश्यक रकम विनियोजन गरिएको छ ।
सल्यान, रुकुम पश्चिम, डोल्पा र दैलेखमा स्वास्थ्यसम्बन्धी निर्माणाधीन बहु वर्षीय पूर्वाधार निर्माणका लागि ३१ करोड विनियोजन गरिएको छ । कर्णालीका सबै जिल्ला अस्पताललाई ५० शय्याको बनाइने छ । सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रूपमा स्तरोन्नति गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
सुत्केरी पोषण कार्यक्रम, पोषिलो पिठो वितरण कार्यक्रम, विपन्नलाई स्वास्थ्य बिमा कार्यक्रम, विपन्नलाई यातायात खर्च उपलब्ध गराउने, नागरिक स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । साथै बजेटमा मिर्गौला डायलासिस सेवा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सल्यानबाट सेवा विस्तार गर्ने, निःशुल्क र अति आवश्यक औषधिको सहज आपूर्ति हुने व्यवस्था मिलाउन बजेट विनियोजन गरिएको छ ।
यसै गरी महामारी नियन्त्रण तथा प्रतिकार्य योजनाका लागि २ करोड विनियोजन गरिएको मन्त्री सिंहले बताए । टेलिमेडिसिन सेवालाई थप प्रभावकारी बनाइने उनले उल्लेख गरेका छन् । खोप अभियानलाई तीव्र बनाइ आर्थिक वर्ष २०८०/०८१ मा प्रदेशलाई पूर्ण खोप घोषणा गरिने बताइएको छ । सामुदायिक स्वास्थ्य सेवालाई प्रवर्द्धन गर्न २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
आयुर्वेद उपचारलाई अस्पताल तथा अनुसन्धान केन्द्रको सुदृढीकरण गरिने जनाइएको छ । गत वर्ष ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले यो पटक त्यो भन्दा केही बढाएर बजेट ल्याएको अर्थमन्त्री सिंहले खबरदृष्टिसँग बताए । ‘यो वर्ष गत वर्षको भन्दा अलिकति बढेर बजेट आएको छ, सङ्घीय अनुदान पनि यो पटक बढेर आएकाले बजेटको आकार पनि थोरै बढेको हो ।’ उनले भने ।
प्रदेश सरकारले वर्षमा १० हजार जनालाई रोजगारी दिने महत्त्वाकाङ्क्षी योजना नीति तथा कार्यक्रममा समावेश गरेको थियो । बजेट पनि सोही अनुरूप उत्पादन र रोजगारीलाई प्रमुख प्राथमिकता दिएर ल्याएको अर्थमन्त्री सिंहले बताए । ठुलो बजेट भौतिक पूर्वाधारमा जाने भए पनि प्राथमिकतामा उत्पादन र रोजगारी, कृषि, स्वास्थ्य, खानेपानी, पर्यटन जस्ता क्षेत्रलाई राखिएको अर्थमन्त्री सिंहले बताए ।
चालू बजेट ८५ प्रतिशत खर्च हुने अनुमान
प्रदेश सरकारले चालू आर्थिक वर्षमा ७९.८० प्रतिशत बजेट खर्च हुने अनुमान गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री सिंहले यस्तो अनुमान गरेका हुन् । चालू आर्थिक वर्षमा ७९.८० प्रतिशत अर्थात् २६ अर्ब १२ करोड ८७ लाख २९ हजार रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ ।
१ अर्ब ६० करोड भन्दा बढी राजस्व सङ्कलन
यस्तै प्रदेश स्थापना भएदेखि आर्थिक वर्ष २०७८/०७९ सम्मको आन्तरिक राजस्व सङ्कलन १ अर्ब ६० करोड ५२ लाख भएको छ । आर्थिक वर्ष ०७९/०८० मा प्रदेशको आन्तरिक राजस्व सङ्कलन जेठ मसान्त सम्म ५३ करोड २० लाख अर्थात् लक्ष्यको तुलनामा ७४.६२ प्रतिशत रहेको छ ।