२०८३ वैशाख ८ , मंगलबार

शिवालयका किशोरीहरूले विभिन्न माग सहित बुझाए गाउँपालिकामा ज्ञापन पत्र 



जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकाका किशोरीहरूले गाउँपालिकामा विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएकी छन् । गाउँपालिका आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेट ल्याउने तयारीमा जुट्दा उनीहरूले विभिन्न माग राख्दै  गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष समक्ष ज्ञापन पत्र पेश गरेकी हुन् ।

उनीहरूले विद्यालयमा अलङकारिक बिरुवाहरू पोषणको लागि उपलब्ध गराउने, दिवा खाजाको लागि विद्यालयका पोषणयुक्त तरकारीहरू उपलब्ध गराउने, किशोरीहरूको प्रत्येक घरमा वृक्षारोपणको लागि बिरुवाहरू उपलब्ध गराउने, विद्यालयमा किशोरीलाई उपलब्ध गराइने सेनेटरी प्याड गुणस्तरीय हुनुपर्ने र सोको प्रयोगपछि व्यवस्थापनका लागि विसर्जनयोग्य शौचालय हुनुपर्ने, फोहोर व्यवस्थापनको लागि डस्बिन उपलब्ध गराउने जस्ता विभिन्न मागहरू राखेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

यस्तै, बालबालिकाको सशक्तीकरण र हिंसा न्यूनीकरणका लागि आत्म सुरक्षा, नेतृत्व विकास र उत्प्रेरणामूलक कार्यक्रम सञ्चालन, प्राविधिक शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था, किशोरी संवादका लागि कार्यालयको व्यवस्था, विभिन्न जनचेतनामूलक कार्यक्रम, जनचेतनामूलक तालिम, सिपमूलक कार्यक्रम, बाल बगैँचा व्यवस्थापन सञ्चालनका लागि आवश्यक परेका सामाग्री र आन्तरिक सिकाइका लागि भ्रमणको व्यवस्था गरिदिनुहुन उनीहरूले गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाही र उपाध्यक्ष गीता शाही समक्ष ज्ञापन पत्र पेश गरेकी हुन् ।

उनीहरूका मागलाई गाउँपालिकाले जति सक्दो नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाएको छ । पछिल्लो समय सहास नेपालको कार्यक्रम बाट शिवालयका सबै वडामा किशोरी संवाद समेत चलिरहेको छ ।

प्रकाशित मिति : २०८० असार ८ गते शुक्रबार