
सभापति कल्याणी खड्का सवार गाडी दुर्घटना
रुकुम पश्चिम । कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का चढेको जीप दुर्घटनामा परेको छ । खड्का चढेको कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको जीप रुकुम पश्चिमको चौरजहारी नगरपालिका – ३ घारीपाखामा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर सभापति खड्कासहित नौ जना घाइते भएका छन् ।
चौरजहारी नगरपालिका –९ मा रहेको आधारभूत विद्यालय भुवाटाकुराका प्रधानाध्यापक सुगन्धा मल्ल, माननीय खड्काका स्वकीय सचिव हुकुम बीसी, चालक युवराज गिरीसहित गाडीमा रहेका नौ जना घाइते भएका हुन् ।
भोलि आइतवार रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा हुने गाउँसभामा सहभागी हुन त्यसतर्फ जाँदै गर्दा जीप दुर्घटना भएको हो । गाडी अनियन्त्रित भएर पल्टिएको चालक गिरीको भनाइ छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय चौरजहारीबाट पुगेको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरी उपचारका लागि चौरजहारी अस्पताल लगेको बताइएको छ ।